• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री

जलदेवता मानिने आँधीमूलका माछा मरे



दमौली । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन् । आज पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको छैन ।

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन । उहाँले भन्नुभयो, “मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो, एकैपटक थुप्रै माछा मरेका छन्, कसरी माछा मरेको हो हामी अचम्मित भएका छौँ ।”

आँधीमूलमा मरेका माछा र पोखरीको पानी परीक्षणका लागि मत्स्य विकास केन्द्र पोखरामा नमूना पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख राजेश चौधरीले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गादेवी अर्याललगायत जनप्रतिनिधिको टोलीले आजै घटनास्थलमा पुगेर जानकारी लिनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष चुमानले परीक्षणको प्रतिवेदन आएपछि थप उपचार पद्धति अपनाइने जानकारी दिनुभयो । जलदेवताका रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पुजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी युवराज मास्के बताउनुहुन्छ ।

मन्दिर परिसरमा रहेको माछा जोगाउनका लागि पोखरीमा तारबार गरिएको थियो । मन्दिर परिसरमा दुई पोखरी थिए । आँधीमूललाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने प्रयास थालिएको छ । प्राचीनकालदेखि नै यहाँस्थित रूखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।

परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । आँधीमूल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो ।

यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सडक कालोपत्र गरिएको छ । पृथ्वीराजमार्गको सत्र सयदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यसअघि कच्ची सडक हुँदा पनि आँधीमूलमा पर्यटकको भीड रहने गरेकामा सडक कालोपत्र भएपछि त्यो सङ्ख्या अझै बढ्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । आँधीमूलमा रहेको मन्दिर, २३ धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । रासस