५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलदेवता मानिने आँधीमूलका माछा मरे



अ+ अ-

दमौली । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन् । आज पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको छैन ।

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन । उहाँले भन्नुभयो, “मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो, एकैपटक थुप्रै माछा मरेका छन्, कसरी माछा मरेको हो हामी अचम्मित भएका छौँ ।”

आँधीमूलमा मरेका माछा र पोखरीको पानी परीक्षणका लागि मत्स्य विकास केन्द्र पोखरामा नमूना पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख राजेश चौधरीले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गादेवी अर्याललगायत जनप्रतिनिधिको टोलीले आजै घटनास्थलमा पुगेर जानकारी लिनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष चुमानले परीक्षणको प्रतिवेदन आएपछि थप उपचार पद्धति अपनाइने जानकारी दिनुभयो । जलदेवताका रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पुजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी युवराज मास्के बताउनुहुन्छ ।

मन्दिर परिसरमा रहेको माछा जोगाउनका लागि पोखरीमा तारबार गरिएको थियो । मन्दिर परिसरमा दुई पोखरी थिए । आँधीमूललाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने प्रयास थालिएको छ । प्राचीनकालदेखि नै यहाँस्थित रूखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।

परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । आँधीमूल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो ।

यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सडक कालोपत्र गरिएको छ । पृथ्वीराजमार्गको सत्र सयदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यसअघि कच्ची सडक हुँदा पनि आँधीमूलमा पर्यटकको भीड रहने गरेकामा सडक कालोपत्र भएपछि त्यो सङ्ख्या अझै बढ्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । आँधीमूलमा रहेको मन्दिर, २३ धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । रासस