• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई नै ब्रेक गर्ने गम्भिर गल्ती गरे: काँग्रेस सांसद केसी ★   उत्तर कोरियाली सैनिकले सीमा पार प्रयास गर्दा सियोलको चेतावनी गोली ★   कालिका मन्दिरमा जेठमा १८ लाख सङ्कलन ★   पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने ★   बानेश्वरमा सहकारी छानबिन समितिको बैठक जारी ★   सोनाक्षी र जहीर इकबालले २३ जुनमा कोर्ट म्यारिज गर्ने ★   ‘पञ्चायत ३’ की अम्मा जीले अझै गरेकी छैनन् बिहे ★   सरकार पूर्णत: असफल भइसक्यो, राजीनामा गर्नुस्: सांसद कार्की ★   गृहमन्त्रीलाई काँग्रेस सांसद राणाको प्रश्न: सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? ★   राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन



धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले विश्वासको मत दिन नमानेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री सोडारीले शुक्रबार र शनिबार गरी दुई दिन विश्वासको मत लिने प्रयास गरेपछि सहयात्री दल एमालेले छलफल गर्ने भन्दै मानेन । एमालेका नेताहरु शनिबार बिहानै काठमाडौं हिँडेपछि मुख्यमन्त्रीले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गर्न लगाउनुभएको हो ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएको, बझाङमा उपचुनावबाट नवनिर्वाचित सदस्यले शपथ नै नलिएको, केन्द्रीय नेतृत्वसँग छलफल नभएकोलगायत कारण देखाउँदै विश्वासको मत दिन आनाकानी गर्नुभएको हो । आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत दिन एमाले तयार नहुनुले सत्ता गठबन्धनभित्र आशंका बढेको छ ।

नेता रावलले छलफल नभएको दाबी गरे पनि एमालेका प्रमुख सचेतक सुरेन्द्रबहादुर पाल उपस्थित सत्ता गठबन्धनको वैशाख १८ को बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने निर्णय गरेको थियो । यही वैशाख ६ मा नियुक्त भएका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन अझै दुई साताको समय छ । तर, पहिलो चरणमा मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीले सोडारीलाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आइतबार भएकाले सम्भावित जोखिमको आकलन गर्दै त्यसअगावै विश्वासको मत लिने तयारी उहाँले गर्नुभएको थियो । तर एमालेको असहयोगपछि उहाँको प्रयास विफल भएको छ ।

एमाले विश्वासको मत दिन तयार नहुनुको अर्थ सोडारीलाई मुख्यमन्त्रीमा नरुचाएको र विश्वासको मत दिनैपर्ने बाध्यात्मक अवस्थामा पनि एकीकृत समाजवादीलाई गलाउन चाहेको बताइएको छ । यसले गठबन्धनभित्रै गम्भीर संकट देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको इगो पनि एउटा प्रमुख कारण मानिएको छ ।

सोडारीको मुख्यमन्त्री नियुक्तिमा पनि एमालेले आनाकानी गरेको थियो । केन्द्रीय सत्ता गठबन्धनमै दरार उत्पन्न हुने अवस्था आएपछि मात्र सोडारीलाई मुख्यमन्त्री मान्न एमाले तयार भएको थियो । त्यसबेलाका समर्थक दल तथा सांसदहरूको संख्याका आधारमा सोडारीले २८ मत पाउने अवस्था छ  । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ सांसदको आवश्यकता पर्छ  ।