• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ★   आँखालाई माया गर्नुहोस्’ लोकार्पण ★   यी हुन् टी-२० विश्वकपमा समूह चरणमा धैरै रन बनाउने ब्याट्सम्यानहरु ★   शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ ★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ?

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन



धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले विश्वासको मत दिन नमानेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री सोडारीले शुक्रबार र शनिबार गरी दुई दिन विश्वासको मत लिने प्रयास गरेपछि सहयात्री दल एमालेले छलफल गर्ने भन्दै मानेन । एमालेका नेताहरु शनिबार बिहानै काठमाडौं हिँडेपछि मुख्यमन्त्रीले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गर्न लगाउनुभएको हो ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएको, बझाङमा उपचुनावबाट नवनिर्वाचित सदस्यले शपथ नै नलिएको, केन्द्रीय नेतृत्वसँग छलफल नभएकोलगायत कारण देखाउँदै विश्वासको मत दिन आनाकानी गर्नुभएको हो । आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत दिन एमाले तयार नहुनुले सत्ता गठबन्धनभित्र आशंका बढेको छ ।

नेता रावलले छलफल नभएको दाबी गरे पनि एमालेका प्रमुख सचेतक सुरेन्द्रबहादुर पाल उपस्थित सत्ता गठबन्धनको वैशाख १८ को बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने निर्णय गरेको थियो । यही वैशाख ६ मा नियुक्त भएका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन अझै दुई साताको समय छ । तर, पहिलो चरणमा मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीले सोडारीलाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आइतबार भएकाले सम्भावित जोखिमको आकलन गर्दै त्यसअगावै विश्वासको मत लिने तयारी उहाँले गर्नुभएको थियो । तर एमालेको असहयोगपछि उहाँको प्रयास विफल भएको छ ।

एमाले विश्वासको मत दिन तयार नहुनुको अर्थ सोडारीलाई मुख्यमन्त्रीमा नरुचाएको र विश्वासको मत दिनैपर्ने बाध्यात्मक अवस्थामा पनि एकीकृत समाजवादीलाई गलाउन चाहेको बताइएको छ । यसले गठबन्धनभित्रै गम्भीर संकट देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको इगो पनि एउटा प्रमुख कारण मानिएको छ ।

सोडारीको मुख्यमन्त्री नियुक्तिमा पनि एमालेले आनाकानी गरेको थियो । केन्द्रीय सत्ता गठबन्धनमै दरार उत्पन्न हुने अवस्था आएपछि मात्र सोडारीलाई मुख्यमन्त्री मान्न एमाले तयार भएको थियो । त्यसबेलाका समर्थक दल तथा सांसदहरूको संख्याका आधारमा सोडारीले २८ मत पाउने अवस्था छ  । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ सांसदको आवश्यकता पर्छ  ।