काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपराह्न शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार दिउसो ३ बजे शीतलनिवास पुग्नुभएको थियो । त्यस भेटका क्रममा राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनका बारेमा चासो राख्नुभएको शीतल निवास स्रोतले बतायो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएका कारण आवधिक निर्वाचनहरु तोकिएकै समयमा गर्दा उपयुक्त हुने सुझाव दिनुभएको समाचार स्रोतले बतायो । यसैगरी त्यस भेटका क्रममा ओमिक्रोन संक्रमणको पछिल्लो अवस्था रोकथाम र सरकारले गरेका प्रयासका साथै नागरिकहरुलाई गरिएको खोपको व्यवस्थाका बारेमा पनि प्रधानमन्त्रीसँग राष्ट्रपतिले चासो राख्नु भएको थियो। प्रधानमन्त्री देउवाले पनि आमिक्रोनको अबस्था र सरकारले नियन्त्रणका लागि गरेका प्रयासका साथै खोपको बारेमा जानकारी गराउनु भएको थियो ।
निर्वाचनका विषयमा भने प्रधानमन्त्रीले आफू पनि आवधिक निर्वाचनकै पक्षमा रहेको र भोलि नै काँग्रेसको बैठक बोलाएकाले यस विषयमा आवश्यक र कानुनसम्मत निर्णय गर्ने जानकारी गराउनुभएको थियो ।











