२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे ४ लाख खोप प्रदेश पठाइँदै



अ+ अ-

काठमाडौँ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको साढे चार लाख खोप आइतबार प्रदेशमा पठाउने तयारी गरिएको छ । स्थानीय तहबाट खोप लगाउने फ्रन्टलाइनरको यकिन तथ्यांक संकलन नहुँदा खोप पठाउन ढिलाइ भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘खोप लगाउनेको यकिन तथ्यांक आइतबार बिहानसम्म संकलन गरी बेलुका अबेर भए पनि खोप पठाउन लागेका छौं,’ विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले भने । जिल्लागत विवरणका आधारमा प्रदेशमा खोप पठाउन लागिएको हो ।

१० लाखमध्ये दोस्रो चरणमा थप ४ लाख ५० हजार मात्रा पठाइने उनले बताए । ढुवानी गर्न खोपलाई आवश्यक पर्ने तापक्रमको उपकरण जडान गरिएको दुई वटा ट्रक तयारी अवस्थामा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १५ मा खोप लगाउन सुरु गर्ने घोषणा गरिसकेका छन् । विभागको योजनाअनुसार केन्द्रबाट प्रदेशमा खोप पुर्‍याउन दुई दिन र प्रदेशबाट जिल्ला अस्पतालसम्म पुर्‍याउन अर्को दुई दिन कम्तीमा लाग्ने अनुमान छ । प्रधानमन्त्री ओलीले घोषणा गरेकै दिन खोप सुरु गर्न आइतबार जसरी भए पनि खोप प्रदेशमा पठाउनुपर्ने हुन्छ ।

सोमबारसम्म प्रदेशमा पुर्‍याउने र बुधबारसम्म जिल्लामा पुग्यो भने मात्रै बिहीबार (१५ गते) देशभरि एकै पटक खोप लगाउन सकिन्छ । ‘प्रधानमन्त्रीज्यूले खोप लगाउने मिति घोषणा गरिसक्नुभयो, कुन जिल्लामा खोप लगाउने कति हो ? यकिन तथ्यांक संकलन भने हुन सकेको छैन,’ विभागका एक उच्च तहका कर्मचारीले भने । जिल्ला तहका स्वास्थ्यकर्मी, सफाइमा खटिने कर्मचारी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो चरणमा खोप लगाउन लागिएको हो । खोप लगाउन जिल्ला अस्पतालमा बुथ बनाउन लागिएको छ । खोप लगाएपछि हुन सक्ने असरको निगरानी गर्न छुट्टै टोली परिचालन गरिएको विभागले जनाएको छ ।

कर्णालीमा झन्डै १२ हजारलाई खोप लगाइने

सुर्खेत– कर्णाली प्रदेशमा पहिलो चरणमा झन्डै १२ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । आइतबारसम्म खोप कर्णालीमा आइपुग्ने र एक साताभित्र सम्बन्धितलाई दिइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संघीय सरकारले कर्णालीका लागि करिब ५४ हजार डोज खोप छुट्याएको जानकारी आए पनि पहिलो चरणमा ११ हजार ७ सय ८० डोजमात्र आउने प्रदेश स्वास्थ्य निर्देशक डा. रवीन खड्काले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइनेछ । ‘योपल्ट जिल्ला अस्पतालमै खोप केन्द्र तोकेर खोप लगाउने योजनामा छौं,’ उनले भने । कान्तिपुर दैनिक