• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

आईपीएलः शीर्ष स्थानको राजस्थान रोयल्सको आठौं जित, लखनउलाई ७ विकेटले हरायो



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अर्को जित दर्ता गरेको छ । टोलीले लखनउ सुपरजाइन्ट्सलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गरेको हो ।

राजस्थानका लागि कप्तान सञ्जु सामसन र ध्रुव जुरेलले अर्धशतक बनाए । दुवैले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै लखनउको हातबाट खेल बाहिर निकाले ।

शनिबार एकना रंगशालामा भएको खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । केएल राहुलले ७६ र दीपक हुड्डाले ५० रन बनाए । राजस्थानका सन्दीप शर्माले २ विकेट लिए । आवेश खान, रविचन्द्रन अश्विन र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।

राजस्थानले १९ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो । सामसन ७१ रन बनाएर नटआउट रहे भने जुरेल ५२ रन बनाएर नटआउट रहे । स्यामसनले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । उनले जुरेलसँग १२१ रनको साझेदारी गरे । लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले १–१ विकेट लिए ।

राजस्थान रोयल्स ९ खेलमा आठौं जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीको १६ अंक छ । उनीहरूभन्दा तल ४ टोली १०–१० अंकसहित दोस्रोदेखि पाँचौँ स्थानमा छन् । लखनउ ९ खेलमा चौथो हार, ५ जितपछि १० अंक जोड्दै चौथो स्थानमा छ ।