• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत



काठमाडौँ: नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकामा जोड दिनुभएको छ ।

अमेरिकी चेम्बर अफ कमर्श नेपालको आयोजनामा आज यहाँ आयोजित ‘युए–नेपाल व्यावासयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उहाँले नेपालले स्वदेशी वा विदेशी लगानी बढाउनका लागि नीतिमा स्पष्टता जरुरी रहेको बताउनुभयो । उहाँले आर्थिक समृद्धिका लागि पारदर्शी, स्थिर र अनुमानयोग्य नीति आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

“अमेरिका र नेपालबीच लामो समयदेखि सम्बन्ध रहिआएको छ, अमेरिका नेपालले समृद्ध लोकतन्त्र, आर्थिक वृद्धि तथा विकास र मानवअधिकार, सामाजिक न्यायका क्षेत्रमा प्रगति गरेको हेर्न चाहन्छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र र सामाजिक न्याय भयो भने आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”

राजदूत थम्पसनले पछिल्लो समय अमेरिकी सरकारले विद्युतीय प्रसारण लाइन, सडकलगायतका पूर्वाधार क्षेत्रमा लगानीका साथै महिलाद्वारा सञ्चालित साना उद्यममा पनि सहयोग गरिरहेको बताउनुभयो ।

युएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष अतुल केशपले नेपालमा भोलिदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित यसप्रकारको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह हुने धारणा राख्नुभयो । उहाँले नेपालमा डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना भएको भन्दै यी क्षेत्रको विकासबाटै मुलुकमा समृद्धि हासिल हुने बताउनुभयो ।

उहाँले लगानी बढाउनका लागि नीतिगत स्पष्टतामा जोड दिँदै लगानीमैत्री वातावरण बनाउन सके ठूलो लगानी भित्रनेमा विश्वास व्यक्त गर्नुभयो । “अहिले नेपालमा भित्रने कुल प्रत्यक्ष विदेशी लगानीमा अमेरिकी लगानी तीन प्रतिशतमात्रै छ, लगानीमैत्री वातावरण र नीति हुने हो भने आगामी दिनमा यसलाई बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

अमेरिकी चेम्बर अफ कमर्श नेपाल (एमच्याम)का अध्यक्ष तथा मेटलाइफ नेपालका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक निर्मलकाजी श्रेष्ठले नेपाल लगानीको ठूलो सम्भावनाको मुलुक भएको बताउनुभयो । “नेपाल लगानीको सम्भावना भएको मुलुक हो, हाम्रो अहिलेको प्राथमिकता हालको लगानीलाई दिगो बनाउने र आगामी दिनमा अमेरिकी लगानी बढाउनु हो”, उहाँले भन्नुभयो, “यसका लागि सबै साझेदारहरूको सहयोग आवश्यक छ ।” उहाँले युएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशपले अमेरिकी चेम्बर अफ कमर्श नेपाललाई छोटो समयमा मान्यता दिलाउन खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएड नेपालका मिसन निमित्त निर्देशक करिन वेल्चले आफूहरूले सरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न काम गरिरहेको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासका लागि युएसएडले पर्यटन, सूचना प्रविधि, कृषि र क्लिन इनर्जीका क्षेत्रमा युएसएडले काम गरिरहेको बताउनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको समेत उल्लेख गर्नुभयो । “नेपालको पर्यटन क्षेत्र यतिबेला नयाँ ढङ्गले अगाडि बढिरहेको छ, पर्यटन क्षेत्रमा ठूलो सम्भावन छ । पर्यटनमा लगानी गरी आर्थिक विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसिया क्षेत्रीय मामिलाका निर्देशक सेमास विसेलले आर्थिक समृद्धि भयो भने राष्ट्रिय सुरक्षा बलियो हुनेमा जोड दिनुभयो ।

नेपाली व्यवसायी सुजीव शाक्यले नेपाल यतिबेला जनसाङ्ख्यकीय लाभ लिने अवस्थामा रहेको भन्दै यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । “चीन र भारतजस्ता ठूलो अर्थतन्त्र भएका मुलुकका बीचमा नेपाल छ, यद्यपि नेपालसँग अहिले युवा जनशक्तिको सङ्ख्या ठूलो भएकाले सम्भावना पनि उत्तिकै छ”, उहाँले भन्नुभयो, “अहिले एक करोड लगानी आउँदा पनि समाचार बन्ने अवस्था रहेकामा आगामी दिनमा ठूलो लगानी ल्याउने गरी काम गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” कार्यक्रममा अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायका प्रतिनिधिले नेपालमा काम गर्दाका अवसर र चुनौतीबारे आफ्ना अनुभव राख्नुभएको थियो ।

त्यस अवसरमा अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम) र अमेरिकी वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार प्रशासनबीच अमेरिकी व्यापार र लगानी रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो । जसमा एमच्यामका तर्फबाट अध्यक्ष निर्मलकाजी श्रेष्ठ र अन्तर्राष्ट्रिय व्यापार प्रशासनका तर्फबाट उद्योग र विश्लेषणसम्बन्धी प्रमुख उपसहायकमन्त्री हेदर हेमले हस्ताक्षर गर्नुभयो ।रासस