२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा शक्ति प्रदर्शनको प्रतिस्पर्धाः ‘जसको शक्ति उसको भक्ति’



अ+ अ-

काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै विभाजित बनेको नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूह र केपी ओली समूहबीच शक्ति प्रदर्शनको प्रतिस्पर्धा चलेको छ । पार्टी एकता भएको तीन वर्षसम्म कार्यकर्तामाझ नपुगेका नेताहरु एक महिनाको अवधिमा नेताकार्यकर्तालाई आ–आफ्नो समूहमा तान्ने क्रममा लागेका छन् । केन्द्रदेखि वडा तहसम्म समानान्तर भेला र सभामा जुटेको नेकपाको दुवै समूहले शक्ति प्रदर्शनलाई नै पहिलो प्राथमिकता दिएका छन् । संसद् विघटन भएलगत्तै प्रचण्ड–नेपाल समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । लगत्तै ओली समूहले पनि प्रचण्ड–नेपाल समूहलाई काउन्टर दिने गरी सभा र भेला गर्दै आएको छ ।

प्रचण्ड–नेपाल समूहले राजधानी काठमाडौंमा दुईपटक शक्ति प्रदर्शन गरेसँगै त्यसलाई काउन्टर दिनका लागि ओली समूहले माघ २३ गते शक्ति प्रदर्शन गर्ने भएको छ । आन्दोलनरत समूहले शक्ति प्रदर्शन गरिरहेको अवस्थामा सरकार पक्षले गर्न थालेको जनसभालाई अर्थपूर्णरुपमा लिइएको छ । प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत माघ २८ गते काठमाडौंमा जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।

सोमबार दुवै समूहले पत्रकार सम्मेलन गर्दै सभा र विरोधसभाको कार्यक्रम सार्वजनिक गरेको छ । प्रचण्ड–नेपाल समूहले नयाँ स्वरुपको धर्ना र देशैभर ठूला विरोधसभाको कार्यक्रम घोषणा गरेको छ । दुई चरणसम्म आन्दोलन गरेको प्रचण्ड–नेपाल समूहले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने क्रममा १३ देखि २८ माघसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । विरोधका कार्यक्रमअन्तर्गत २८ माघमा काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने घोषणा नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले गरेको छ । संघर्ष समितिका संयोजक श्रेष्ठले विरोधको कार्यक्रमअन्र्तगत सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शनसम्म रहेको बताउनुभयो ।

प्रचण्ड–नेपाल पक्षले माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने र १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्यसहित धर्ना दिने कार्यक्रममा घोषणा गरेको छ । माघ १५ गते बुटलवल, १६ विराटनगर, १७ गते धनगढीमा विरोधसभा गर्ने भएको छ । श्रेष्ठका अनुसार माघ २२ गते काठमाडौंमा युवा ¥याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गरिनेछ ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक श्रेष्ठले निर्वाचन आयोगले लिएको निर्णयको आधारमा आफूहरुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दाबी गर्नुभयो । निर्वाचन आयोगले कानुनसम्मत निर्णय गर्छ भन्नेमा विश्वस्त रहेको बताउँदै आयोगको पत्र हेरेर आवश्यक निर्णय गर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुवै समूहले आफूहरु आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले नेकपा फुटेको नै नमान्दै दुवैको दाबीलाई अस्वीकार गरिदिएको छ । आयोगको निर्णयले नेकपाको नाम र चुनाव चिह्न सूर्यको विषयले विवाद थप पेचिलो बन्ने भएको छ ।

उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले दुई सर्तमा पार्टी एकता हुन सक्ने बताउनुभएको छ । २३ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोपपत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुन सक्ने बताउनुभएको हो । नेकपा ओली पक्षले माघ २३ गते काठमाडौंमा गर्ने जनसभा राजनीतिक स्थायित्वका लागि भएको दाबी गरेको छ ।

उपप्रधानमन्त्री पोखरेलले राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानले गरेको व्यवस्थाअनुसार आर्थिक विकासका लागि भएको दाबी गर्नुभयो । प्रचण्ड–माधव पक्षले यसअघि माघ ९ गते गरेको विशाल प्रदर्शनका विरुद्ध जनसभा गर्न लागेको हो भन्ने प्रश्नमा पोखरेलले कसैप्रति लक्षित र काउन्टरमा जनसभा गर्न नलागेको दाबी गर्नुभयो । उहाँले निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयलाई सम्मान र सकारात्मकरुपमा लिएको बताउँदै ओली नेतृत्वको नेकपाले राखेको अडान सही छ भन्ने प्रमाणित भएको बताउनुभयो । नेकपालाई चाहेर पनि कसैले फुटाउन सक्दैन भन्ने पुष्टि भएको बताउँदै पोखरेलले प्रचण्ड र माधव नेपाल समूहको काम गलत भएको बताउनुभयो ।

दुई समूहमा विभाजित भएसँगै शुरु भएको समानान्तर भेलाले एक पक्षलाई अर्को पक्षबाट कारबाही गर्ने होडबाजीसमेत चलेको छ । आइतबार मात्र प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै कारबाही गर्ने निर्णय गरेको थियो । नेपाल समाचारपत्र दैनिक




भर्खरै