२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा तनाव कम गर्न वार्ता जारी रहेकै बेला भारत र चीनका सैनिकबीच फेरि झडप



अ+ अ-

नयाँदिल्ली । सीमा तनाव कम गर्न वार्ता जारी रहेकै बेला भारत र चीनका सैनिकबीच फेरि झडप भएको छ । दुई देशका सैनिकहरूबीच सिक्किमको नाकु ला नाकानजिकको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा त्यस्तो झडप भएको हो । सिक्किमलाई चीनको तिब्बतसँग जोड्ने नाकु ला नाकालाई सामरिक हिसाबमा भारत र चीन दुवैले निकै संवेदनशील मान्दै आएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार त्यस्तो झडप गत बुधबार नै भए पनि सोमबार मात्र बाहिर आएको हो । यद्यपि झडपमा दुवै पक्षमा मानवीय क्षति भने भएको छैन ।

चिनियाँ सैनिक टुकडीले भारतीय क्षेत्रमा प्रवेश गरेपछि उक्त झडप भएको बताइएको छ । त्यसलगत्तै चिनियाँ सैनिकहरूलाई पछाडि धकेल्ने क्रममा भएको झडपमा केही भारतीय सैनिक घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गत वैशाखमा पनि सोही क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै बुधबार घटना ‘सामान्य’ भएको र स्थानीय कमान्डस्तरबाटै सुल्झिसकेको जनाएको छ । ‘उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा जनवरी २० मा सामान्य झडप भएको हो । त्यसलाई स्थानीय कमान्डरबाट स्थापित प्रोटोकलअनुसार सुल्झाइएको छ,’ भारतीय सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी उसले गलत रिपोर्टहरूलाई बढाइचढाइ नगर्न पनि सञ्चारमाध्यमहरूलाई चेतावनी दिएको छ ।

गत असारमा उत्तरी लद्दाखको सीमावर्ती गलवान क्षेत्रमा भएको हिंसात्मक झडपका कारण दुवै देशबीच कायम तनाव कम गर्ने प्रयास जारी रहेकै बेला पछिल्लो झडप भएको हो । भारत र चीनबीच गत वैशाखमा उत्तरी लद्दाखको सीमावर्ती गलवान उपत्यका क्षेत्रमा भएको सैन्य झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चिनियाँ पक्षतर्फ भएको हताहत भने सार्वजनिक भएन । उक्त घटनामा चीनतर्फ पनि ठूलो क्षति भएको भारतीय सेनाले दाबी गरेको थियो । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गर्दै आएका छन् । एसियाका दुई ठूला आणविक शक्तिसम्पन्न मुलुकबीच यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो मानिएको थियो ।

भारत र चीनबीच ४ हजार किलोमिटरभन्दा लामो सीमा छ । त्यसमध्ये करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट उक्त निगरानी सेना र आईटीबीपीले गर्छन् । संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले सीमा सुरक्षा हेर्दै आएको छ । सीमा विवादका कारण दुई देशबीच सन् १९६२ मा युद्धसमेत भएको थियो । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बाट छुट्टयाइएको छ ।

दुवै मुलुकले एकअर्कालाई एलएसी उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । वैशाखमा गलवान उपत्यका क्षेत्रमा भएको झडपको निहुँ पनि त्यही एलएसीको उल्लंघन नै हो । सीमामा दुई देशका सैनिकहरू आमनेसामने हुने गरे पनि मानवीय क्षति नै भएको भने पछिल्लो ५० वर्षकै पहिलो घटना हो । घटनापछि दुई देशबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण बन्न पुगेको हो । गलवान घटनाप्रति अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत चिन्ता व्यक्त गरिएको थियो । त्यसपछि दुवै मुलुकले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थितिमा उल्लेख्य वृद्धि गरेका छन् ।

त्यति मात्र होइन, तनावकै बीच भारतले चिनियाँ कम्पनी र लगानीलाई निरुत्साहित गर्ने नीति नै लियो । त्यसयता सयौं चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाइएको छ । साथै चिनियाँ कम्पनीले पाएका निर्माणसम्बन्धी ठेक्का तोडिएका छन् । चीनले त्यस्ता कदम अन्तर्राष्ट्रिय व्यापारको स्थापित मान्यताविरुद्ध भएको भन्दै विरोध गर्दै आएको छ । सम्बन्ध तनावपूर्ण कायमै रहे पनि परिस्थितिलाई साम्य पार्न दुवैले कूटनीतिक र सैन्यस्तरको वार्तालाई भने निरन्तरता दिँदै आएका छन् । दुई देशबीचका उच्च सैनिक अधिकारीहरूबीच एघारौं चरणको वार्ता भइसकेको छ । यही आइतबार मात्र पूर्वी लद्दाखको मोल्दोंमा नवौं चरणको वार्ता भएको थियो । करिब १५ घण्टा चलेको उक्त वार्ता पनि बिनानिष्कर्ष टुंगिएको थियो ।

पछिल्लो घटनाका सम्बन्धमा चिनियाँ पक्षले भने आफ्नो धारणा सार्वजनिक गरेको छैन । चिनियाँ सरकारको मुखपत्र मानिने द ग्लोबल टाइम्सले त उल्टो भारतीय पक्षले भनेजस्तो कुनै पनि झडप नभएको र भारतीय सञ्चारमाध्यममा आएका समाचारहरू आधारहीन र झूटो भएको दाबी गरेको छ । कान्तिपुर दैनिक




भर्खरै