२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरबाराहीको भेटीघाटी पारदर्शी बनाइँदै



अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरको भेटीघाटी तथा दान सार्वजनिक गर्न थालिएको छ ।

मन्दिरमा चढाइएको भेटी तथा दानको हिसाब सार्वजनिक गर्नुपर्ने भन्दै नागरिकस्तरबाट आवाज उठ्न थालेपछि मन्दिर व्यवस्थापन समितिको सक्रियतामा भेटी तथा दानको हिसाब सार्वजनिक गर्न सुरू गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।

अहिले भक्तजनबाट प्राप्त भेटी तथा दानको रसिद जारी गर्ने र नियमितरूपमा सार्वजनिक गर्ने काम भइरहेको पण्डितले बताउनुभयो । “दानको रसिद दिने र आम्दानी सार्वजनिक गर्ने कार्यले पारदर्शिता बढ्ने आशा गरेका छौँ । यस कार्यले भेटी र दान प्राप्त हुने दरसमेत बढेको छ । गत चैतमा मात्रै रु तीन लाख भेटी सङ्कलन भएको छ”, नगरप्रमुख पण्डितले भन्नुभयो ।

ढोरबाराही मन्दिर जङ्गलको बीच भागमा अवस्थित छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेका माछाले यहाँ पुग्ने भक्तजनलाई लोभ्याउने गरेका छन् । सो पोखरीमा बेलाबेला लहरी छुट्ने गरेकामा यसलाई धार्मिक शक्तिसँग जोड्ने गरिएको छ ।

हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको यस मन्दिरमा विसं १९०४ देखि चढाइएका घण्टहरूसमेत रहेका छन् । यहाँ नयाँ वर्षको दिन र वैशाख महिनाभर, बडादसैँ, चैतेदसैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजाअर्चना हुने गरेको छ ।

मनोकाङ्क्षा पूरा हुने जनविश्वासकासाथ यस मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । नगरपालिकाले रु ३१ लाख चार हजार नौ सय ४० को लागतमा ढोरबाराही मन्दिरसम्म पुग्ने बाटो स्तरोन्नति गरेपछि भक्तजनहरूलाई यहाँ आउन सहज भएको छ ।