२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरबाराहीको भेटीघाटी पारदर्शी बनाइँदै



अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरको भेटीघाटी तथा दान सार्वजनिक गर्न थालिएको छ ।

मन्दिरमा चढाइएको भेटी तथा दानको हिसाब सार्वजनिक गर्नुपर्ने भन्दै नागरिकस्तरबाट आवाज उठ्न थालेपछि मन्दिर व्यवस्थापन समितिको सक्रियतामा भेटी तथा दानको हिसाब सार्वजनिक गर्न सुरू गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।

अहिले भक्तजनबाट प्राप्त भेटी तथा दानको रसिद जारी गर्ने र नियमितरूपमा सार्वजनिक गर्ने काम भइरहेको पण्डितले बताउनुभयो । “दानको रसिद दिने र आम्दानी सार्वजनिक गर्ने कार्यले पारदर्शिता बढ्ने आशा गरेका छौँ । यस कार्यले भेटी र दान प्राप्त हुने दरसमेत बढेको छ । गत चैतमा मात्रै रु तीन लाख भेटी सङ्कलन भएको छ”, नगरप्रमुख पण्डितले भन्नुभयो ।

ढोरबाराही मन्दिर जङ्गलको बीच भागमा अवस्थित छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेका माछाले यहाँ पुग्ने भक्तजनलाई लोभ्याउने गरेका छन् । सो पोखरीमा बेलाबेला लहरी छुट्ने गरेकामा यसलाई धार्मिक शक्तिसँग जोड्ने गरिएको छ ।

हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको यस मन्दिरमा विसं १९०४ देखि चढाइएका घण्टहरूसमेत रहेका छन् । यहाँ नयाँ वर्षको दिन र वैशाख महिनाभर, बडादसैँ, चैतेदसैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजाअर्चना हुने गरेको छ ।

मनोकाङ्क्षा पूरा हुने जनविश्वासकासाथ यस मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । नगरपालिकाले रु ३१ लाख चार हजार नौ सय ४० को लागतमा ढोरबाराही मन्दिरसम्म पुग्ने बाटो स्तरोन्नति गरेपछि भक्तजनहरूलाई यहाँ आउन सहज भएको छ ।