• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमिरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन

होमस्टेले फेरियो डेढगाउँको दराई बस्ती



मध्यविन्दु । दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डढगाउँको परिचय फेरिएको छ । दराई समुदायको बसोबास रहेको बौदीकाली गाउँपालिका-२ डेढगाउँमा २०७५ सालदेखि होमस्टे सञ्चालन गरिएपछि गाउँको परिचय बदलिएको हो ।

जीविकोपार्जनका लागि खेतीपातीमा मात्र निर्भर दराई समुदायले होमस्टे सञ्चालन गरेर आम्दानी लिन थालेका छन् । पाँच घरबाट होमस्टेको सेवा सुरु गरिएको गाउँमा अहिले १० घरले होमस्टे चलाउन पाहुना घर बनाएका छन् । होमस्टेमा अहिले २० जना पाहुनालाई एकैसाथ राख्न सक्ने क्षमता रहेको छ । यस गाउँमा ३५ घरधुरी दराई जातिको बसोबास छ ।

कालीगण्डकी नदी किनारमा रहेको दराई बस्तीमा सञ्चालित होमस्टेले दराई जातिको कला संस्कृति प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सामुदायिक होमस्टेका अध्यक्ष कमल दराईले बताउनुभयो ।

“होमस्टे सञ्चालनमा आएपछि अहिले गाउँ पनि सफा र सुन्दर भएको छ, पाहुनालाई स्थानीय परिकार खुवाएर होमस्टेमा राख्छौँ”, उहाँले भन्नुभयो, “नयाँ नयाँ ठाउँका मानिसको आउजाउ हुन थालेपछि गाउँमा धेरै चिज परिवर्तन भएको छ ।”

होमस्टेमा दराई जातिको खानाका परिकारका साथै स्थानीय उत्पादनबाट पाहुनाको रुचि अनुसारका खानेकुरा तयार गरिन्छ । होमस्टेले दराई समुदायका महिलालाई आत्मनिर्भर हुन सिकाएको अध्यक्ष कमल दराईले बताउनुभयो ।

जिल्लाकै अमलटारी होमस्टे राष्ट्रिय रुपमा स्थापित भएपछि पहाडी भेगमा सञ्चालन भएको यो दराई होमस्टेले छुट्टै पहिचान बनाएको छ । पछिल्ला वर्षमा दराई सामुदायिक होमस्टेमा पहुनाको आकर्षण बढ्दै गएको व्यवस्थापक सिद्र्धिपूर्णी दराईले जानकारी दिनुभयो ।

होमस्टेमा आउने पाहुनालाई दराई संस्कार अनुसार फूलको गुच्छा, कलशमा पानी, दियो बालेर स्वागत गर्ने गरिन्छ । साँझमा दराई जातिको कौरा, झ्याउरे लगायतका नृत्य प्रस्तुत गरेर पहुनालाई मनोरञ्जन दिने गरिएको छ ।

दराई बस्ती आसपासमा रहेका ऐतिहासिक धार्मिकस्थल, प्रसिद्ध अकला मन्दिर, बालीघाट, हरियाली डाँडा, कालीगण्डकी नदी लगायतका रमणीयस्थलको अवलोकन गर्न सकिन्छ । होमस्टेमा अहिले दैनिक १० जना पाहुना बास बस्ने गरी आउने गरेको होमस्टे सञ्चालक समितिले जनाएको छ ।

दराई समुदायको मुख्य बसोबास नवलपरासी (बर्दघाट सुस्तपूर्व)सँगै तनहुँ, चितवन र गोरखा जिल्लामा छ । विसं २०७८ को जनगणना अनुसार नेपालमा दराई समुदायको जनसंख्या १८ हजार छ सय ९५ मात्र रहेको छ । रासस