२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

‘तीन महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाखोप पाउन्छन्’

‘तीन महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाखोप पाउन्छन्’
अ अ+ अ-

काठमाडौँ ।  ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गर्नुभएको हो । उहाँले खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताउनुभयो । 

“कोही पनि खोप लगाउनबाट वञ्चित हुनुहुन्न, खरीद गरेरै भए पनि संवेदनशीलताको आधारमा निःशुल्क वितरण गरिनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसका लागि आवश्यक बजेटको तर्जुमासमेत भइसकेको छ ।” शुभारम्भ भएसँगै सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको छ । 

यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ । ती सबै अस्पताल प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए । कार्यक्रमको प्रारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले खोप अभियानका विषयमा दिनुभएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सन्देशलाई मार्गनिर्देशनका रुपमा लिएर कार्यान्वयन गर्दै जाने बताउनुभयो । उहाँले नेपालमा कोभिडविरुद्ध सक्रिय सबैप्रति आभार प्रकट गर्नुभयो । 

उक्त समारोहमा प्रधानमन्त्री ओलीले नेपालीको जीवन रक्षाका लागि यथाशीघ्र खोप उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त  गर्नुभयो । कोरोनाविरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्दै प्रधानमन्त्री ओलीले खोपले नागरिकको प्रतिरोध क्षमता बढोस् भनी कामना गर्नुभयो । उहाँले खोप खेर जान नहुनेमा पनिजोड दिनुभयो । 

प्रधानमन्त्रीले छिट्टै  खोप लगाउन शुरुआत गर्न पाएकामा खुशी व्यक्त गर्दै आफूले शुरु गरेको हप्ता दिनभित्रै १० लाख मात्रा उपलब्ध गराएकामा भारत सरकार, भारतीय जनता र मुख्यगरी भारतीय समकक्षी नरेन्द्र मोदी तथा खोप निर्माणमा लाग्ने वैज्ञानिकलगायतलाई धन्यवाद दिनुभयो ।  

उहाँले अहिले प्राप्त खोप अपुग हुने भएकाले अन्य देश र  अन्तरराष्ट्रिय संस्थासँग खोपका लागि समन्वय भइरहेको जानकारी दिँदै भारत सरकारसँग उचित मूल्यमा थप खोप ल्याउने विषयमा कुराकानी भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शुरुमा एक ठाउँमा पनि परीक्षणस्थल नभएकामा अहिले ८२ स्थानमा २५ हजारभन्दा बढीलाई दैनिक सेवा दिन सक्ने बन्नु महत्वपूर्ण उपलब्धि भएको बताउँदै भन्नुभयो, “अहिलेसम्म कोभिड अस्पताल निर्माणमा लागेका थियौँ, अब त्यसलाई रोक्नुपर्नेछ, अब विगतमा झैँ कोभिड–१९ बढ्दैन तर सावधानी अपनाउने कुरामा भने ध्यान दिनैपर्छ ।”

प्रधानमन्त्री ओलीले नेपालका पूर्वजले रोगका सम्बन्धमा वैज्ञानिकस्तरकै जैविक प्रचलन अघि बढाएको स्मरण गर्नुभयो । कोरोनाकालमा जीवनसँग प्रकृति, वन्यजन्तु तथा चराचर जगत्सँगको सम्बन्धलाई पुनःपरिभाषित गरेको बताउँदै प्रधानमन्त्री ओलीले यसले प्राकृतिक चिकित्सा पद्धति र जडीबुटीको प्रयोगतर्फ समाजलाई सचेत गराउने र फर्काउने काम गरेको स्मरण गर्नुभयो । 

प्रधानमन्त्री ओलीले कोरोनाले सङ्कटमा कसरी जोगिने भनेर अमूल्य शिक्षा दिएको समेत बताउँदै भन्नुभयो, “अर्थतन्त्रलाई धक्का लाग्दा पुनःनिर्माणलगायतका काम कसरी गर्न सकिन्छ भन्ने पनि यसले सिकाएको छ ।”

उहाँले रोग र भोगबाट मानिसलाई बचाउन सकियो भने सिर्जनशील मानिसले पुनःउत्थान त आफैँले गरिहाल्छन् भन्दै पहिलो कुरा जनताको जीवन बचाउनु नै महत्वपूर्ण रहेको र सरकार जीवन जोगाउने कुरामा गम्भीर रहेको स्पष्ट गर्नुभयो । 

उहाँले नेपालीमा रोगसँग लड्ने क्षमता उच्च रहेकाले नै मृत्युदर कम भएको जिकिर गर्नुभयो । नेपालमा हाल शून्य दशमलव ७ प्रतिशत मृत्युदर  छ । निको हुने दर भने ९८ प्रतिशत पुगेको छ । लाखौँ बिरामी भए पनि धेरै देशका तुलनामा नेपालमा प्रभावकारी काम भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।  त्यसो भन्दैमा स्वास्थ्य मापदण्डलाई भने विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

उहाँले रोगसँग लडिरहेकाको स्वास्थ्यलाभको कामना गर्दै निधन भएका परिवारप्रति समवेदना प्रकट गर्नुभयो । उहाँले हिजो सावधानीभन्दा त्रास बढी रहेको तथा परिवार र साथीभाइ पनि कोभिडको संवाहक देखिने गरेकामा परिस्थिति फेरिएर अहिले नेपाली बढी सतर्क रहेको र भयावह स्थिति नरहेको प्रष्ट्याउनुभयो ।  खोपमा मात्रै भर नपर्न पनि प्रधानमन्त्री ओलीले  सुझाव दिनुभयो ।  

उक्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज १२ हजार नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाउने जानकारी दिनुभयो । उहाँले पहिलो चरणको अभियान १० दिनसम्म जारी रहने बताउँदै २८ दिनपछि खोपको दोस्रो मात्रा लगाइने जानकारी गराउनुभयो । 

नेपालमा कोभिड–१९ को सङक्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाएका हुन् । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोरोना देखिएको थियो । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा खोप नेपाल आएको हो । पहिलो चरणमा नेपालमा चार लाख ३० हजारलाई खोप प्रदान गरिनेछ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

पहिलो  चरणमा खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका,अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् । रासस