२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति

बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति
अ अ+ अ-

तनहुँ। यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँको घिरिङ गाउँपालिकामा खानेपानी तथा सिँचाइका संरचनामा क्षति पुर्‍याएको छ ।

बाढीपहिरोका कारण खानेपानीका मुहान, पाइप, मोटर, ट्रान्सफर्मर, ट्याङ्की तथा सिँचाइका बाँध, कुलो र नहरमा क्षति पुगेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार घिरिङ गाउँपालिकाका विभिन्न वडामा खानेपानीतर्फ दश र सिँचाइतर्फ नौ वटा आयोजनामा आंशिक क्षति पुगेको छ ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित प्रदेश मन्त्रालय, कार्यालय र गाउँपालिकामा सिफारिस गरिएको उहाँले बताउनुभयो ।

बाढीपहिरोले घिरिङ गाउँपालिकाका विभिन्न बस्तीमा सञ्चालनमा रहेका खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । कतै बाढीले पाइप बगाएको छ भने कतै पहिरोले मुहान पुरिएको र विद्युतीय उपकरणमा क्षति पुगेको छ । घिरिङ-१ पुट्टारस्थित ढाव खानेपानी आयोजनाको कपरवायर एक सय मिटर र १२ वटा स्ट्यान्ड बगाएको छ । आयोजनालाई पुनः सञ्चालनमा ल्याउन आवश्यक सामग्री जडान गर्नुपर्ने भएको छ ।

त्यस्तै, घिरिङ-४ स्थित देउतीखोला खानेपानी आयोजनाको सामुदायिक विद्युतीकरणबाट सञ्चालित ट्रान्सफर्मर जलेको छ । सोही वडाको गड्यौलीटारस्थित झर्राखोला खानेपानी आयोजनाको मोटर र मिटर बिग्रिएका प्रजिअ तिवारीले जानकारी दिनुभयो । घिरिङ-३ वाकथोकस्थित चाँपादी खानेपानी आयोजनाको मुहान पहिरोले पुरिएको छ ।

घिरिङको नयाँटारस्थित सुनौली खानेपानी आयोजनामा भासिने समस्या देखिएको छ भने घिरिङ-४ जिताकोटस्थित घिमिरे पँधेरी खानेपानी आयोजनाको ट्याङ्कीमा क्षति पुगेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार घिरिङ-२ स्थित भदौरे खानेपानी आयोजनाको एमसिबी बिग्रिएको छ ।

घिरिङ-५ स्थित भकर्दी खानेपानी आयोजनाको पाइप बाढीले बगाएको छ भने सोही वडाको अलैँचे खानेपानी आयोजनाका पिल्लरका टेका बगाएको छ । घिरिङ-५ कै गाउँपानी खानेपानी आयोजनाको मुहानमा समेत क्षति पुगेको छ । यी सबै आयोजनाको पुनर्निर्माण तथा मर्मतका लागि गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र घिरिङ गाउँपालिकामा सिफारिस गरिएको प्रजिअ तिवारीले बताउनुभयो ।

बाढीपहिरोले घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा रहेका सिँचाइ आयोजनामा समेत क्षति पुर्‍याएको छ । खेतबारीमा सिँचाइ पुर्‍याउन प्रयोग हुँदै आएका बाँध, कुलो, पाइप तथा नहर क्षतिग्रस्त भएका छन्। घिरिङ-१ स्थित अत्रौली-पुट्टार सिँचाइ आयोजना प्रभावित भएको छ । घिरिङ-३ स्थित रोहिणी सिँचाइ आयोजनाको बाँध बाढीले बगाएको छ । सोही वडाको बाँधघट्ट सिँचाइ बाँध पनि बगाएको छ ।

घिरिङ-१ स्थित गड्यौलीटार कुलोमा बाढी पसेर मुहान बगाएको छ । घिरिङ-४ स्थित वान्टाङ खोला बाँध तथा कुलोमा क्षति पुगेको छ भने घिरिङ-५ स्थित वीरखोला सिँचाइ आयोजनाको पाइपमा क्षति पुगेको छ ।

यसैगरी, घिरिङ-३ स्थित गोफाखोला सिँचाइ बाँधमा क्षति पुगेको छ । सोही वडाको नयाँटार सिँचाइ नहर जगसहित पहिरोले बगाएको छ । घिरिङ क्षेत्रमा रहेको पार्दीकुलो सिँचाइ आयोजनाको पाइपमा समेत क्षति पुगेको प्रजिअ तिवारीले जानकारी दिनुभयो । क्षतिग्रस्त सिँचाइ आयोजनाको पुनर्निर्माण तथा मर्मतका लागि गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दमौली र घिरिङ गाउँपालिकामा सिफारिस गरिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार बाढीपहिरोबाट क्षति पुगेका खानेपानी तथा सिँचाइका संरचना पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरिने उहाँले बताउनुभयो ।

खानेपानीका संरचनामा क्षति पुग्दा स्थानीय बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउन समस्या भएको छ भने सिँचाइका बाँध, कुलो र पाइप बिग्रिँदा खेतबारीमा पानी पुर्‍याउन कठिनाइ भएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो ।रासस