काठमाडौं । नेकपाका सांसदहरुले प्रतिनिधी सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटमा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समय तोकेका छन् । सोही रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताएका हुन्।
बुधबारको इजलासको अन्तिममा जबराले भने ‘ अब तपाईंहरुलाई १०/१५ मिनेट भन्दा बढता दिन्नौं, हठ पनि नगर्नुहोला ।’
सोमबारदेखि नेकपा संसदीय दलका नेता देव गुरुङसमेतको रिटमा सर्वोच्चमा बहस भइरहेको छ । प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन् ।
देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शेरबहादुर केसी, शम्भु थापा, सुरेन्द्र महतो, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन् ।
संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ ।