• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ?

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड



दमौली । तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी रु दुई करोड ९० लाख आम्दानी गरेका हुन् ।

भिमाद–१, ५, ८ र ९ का किसानले दुई सय २२ टन सुन्तला बिक्री गरेका नगरपालिकाका कृषि सेवा शाखा प्रमुख कृष्ता महतोले जानकारी दिनुभयो । त्यसमध्ये वडा नं ८ अस्पादीबाट मात्रै रु एक करोड ५० लाखको सुन्तला बिक्री भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पादीका कृषकले एक सय ६६ टन सुन्तला बिक्री गर्नुभएको तथ्याङ्क छ । अन्य वडाको तुलनामा यो वडामा बढी सुन्तला उत्पादन हुने गर्दछ ।”

कृषि सेवा शाखा प्रमुख महतोका अनुसार चार वडालाई नगरपालिकाले पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । पकेट क्षेत्रका सुन्तला कृषकलाई नगरपालिकाले विभिन्न सामग्री सहयोग गर्दै आएको उहाँको भनाइ छ । पकेट क्षेत्रका वडाहरुमा एक सय ५० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

नगरपालिकाले चालु आव २०८०÷८१ मा वडा नं ५ लाई पनि सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेको छ । यो वडाको मिछुर्लुङ क्षेत्र सुन्तला पकेट कार्यक्रममा ३३ जना कृषक आबद्ध छन् । उक्त समूहलाई यसै वर्ष सुन्तला खेती प्रवर्द्धनका लागि रु छ लाख सहयोग गरिएको कृषि अधिकृत हरिप्रसाद गैह्रेले जानकारी दिनुभयो ।

तनहुँमा यो वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् ।

जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद– ८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका उहाँले बताउनुभयो ।

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका साथै पोखरा, नारायणगढ लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । रासस