१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

गर्मी छल्न कुपिन्डे ताल जान्छन् आन्तरिक पर्यटक

गर्मी छल्न कुपिन्डे ताल जान्छन् आन्तरिक पर्यटक
अ अ+ अ-

दाङ । सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका(८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न दाङ, सल्यानका पर्यटक बढ्न थालेका हुन् ।

स्थानीयहरुका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जाल तथा अन्य विभिन्न सञ्चारका माध्यमबाट यस तालको प्रचार पनि भइरहेकाले यसको अवलोकन गर्नुको साथै डुङ्गा सयरका लागि आन्तरिक पर्यटक जाने गरेका स्थानीयले जानकारी दिएका छन् ।

चारैतिर वनजङ्गल र ती जङ्गलको बीचमा अवस्थित छ, कुपिन्डे ताल । हरियाली जङ्गल र मिलेका डाँडाका बीचमा रहेको पो तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । हुनत अरु याममा पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । यतिखेर झन् गर्मी सुरु भएकाले शीतलताको अनुभूति लिन र तालको अवलोकन गर्न पर्यटकहरु त्यहाँ जाने गरेका छन् ।

त्यहाँ पुगेपछि तालको कञ्चन पानीले पर्यटकलाई लोभ्याउने गर्दछ । साथै पर्यटकहरु डुङ्गामा सयर गर्ने, तस्बिर खिच्ने र तालको अवलोकन गरी रमाउने गर्दछन् । पर्यटकीय तथा धार्मिक, सांस्कृतिक महत्वको स्थलका रुपमा समेत चिनिने कुपिन्डे ताल अवलोकनका लागि तुलसीपुर उपमहानगरपालिका (६ बाट यहाँ पुग्नुभएका २३ वर्षीय नवीन अधिकारी तालको अवलोकनबाट आनन्दको अनुभूति गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा नलोभिने कोही हुँदैन । हामी पनि समय समयमा यहाँ परिवारकै साथमा आउने गर्दछौँ । यस ताललाई सबै मिलेर संरक्षण गरी अझ राम्रो बनाउनुपर्छ, यसबाट थप पर्यटक आकर्षित हुनेछन् ।”

अधिकारीले चार घण्टा समय ताल क्षेत्रमा बिताएको बताउनुभयो । तालको सुन्दरताबाट लोभिएको उहाँले सुनाउनुभयो । प्राकृतिक रुपमा मनोरम ताललाई स्वदेश तथा विदेशमा चिनाउन प्रचारप्रसार गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका– ६ का ४७ वर्षीय राधा रजौरेले बताउनुभयो । उहाँले यस दहको संरक्षण र पर्यटकीय संरचनाको निर्माण गर्न सके विदेशी पर्यटक पनि आकर्षित हुनसक्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सके सल्यानको मात्र नभइ छिमेकी जिल्लाका मुहार फेरिन पनि सक्छ । मनमोहक दह र यस वरपरको प्राकृतिक सौन्दर्यले सबैलाई आकर्षित गर्न सक्दछ ।”

सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजाआरधना गर्न गएका भक्तजनहरु कुपिन्डे दह र यहाँको बराह मन्दिरसम्म पुग्ने गरेका छन् । त्यसैले यस ताललाई धार्मिक तथा पर्यटकीय पर्यटनसँग जोड्न सकिने यहाँ आउने पर्यटकको भनाइ छ ।

बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरुसँग पुग्नुभएका ४८ वर्षीय भीमप्रसाद रेग्मी तालमा रमाइरहनुभएको थियो । उहाँ तालमा डुङ्गा चढेर जलविहार गर्ने र तस्बिर लिने काममा व्यस्त हुनुहुन्थ्यो । ताल हेर्न पुग्नुभएकी तुलसीपुर उपमहानगरपालिका(५ की ४८ वर्षीया राधा योगीले तालको संरक्षण तथा विकासका लागि ध्यान दिन स्थानीय सरकार र कर्णाली प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ, “ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण र सम्बद्र्धनका लागि सरकारको ध्यान पुग्नु जरुरी छ ।”

तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न र ताल वरपर होटल तथा चमेना गृह सञ्चालन गर्न सकिएमा ताल घुम्न जाने पर्यटकलाई सुविधा पुग्ने उहाँले बताउनुभयो ।

कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विसं २०६७ मा मात्रै यो तालको चर्चा सुरु भएको बताउनुभयो । उहाँका अनुसार यस तालको आफ्नै विशेषता छ । वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन । पात खस्नासाथ आफैँ किनारमा पुग्छन् या यहाँका चराले छेउसम्म धकेल्दै लैजाने गरेको पनि देखिन्छ । यो ताल चखेवा, पानी हाँस र स्थानीय जातका माछाको बासस्थान पनि हो ।

कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार दुई सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर छ । तालको क्षेत्रफल भने यकिन छैन । तालमा पानी कहाँबाट आउँछ र कहाँबाट बाहिरिन्छ भन्ने स्पष्ट रुपमा देखिँदैन । स्थलगत रुपमा हेर्दा यसको मुहान देखिँदैन र निकास पनि भेटिँदैन ।

देखिने गरी तालको निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान छ । बनगाँड कुपिन्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले तालको विकासका लागि आफू लागिपरेको बताउनुभयो । उहाँले ताल जङगलको बीचमा रहेको, यहाँ जलचर जीवजन्तु समेत रहेका तथा जमिन वनको भागमा पर्ने भएकाले वातारणीय प्रतिवेदन तयार गरेर तालको संरक्षण तथा विकासको योजना बनाइने बताउनुभयो ।

प्रतिवेदन स्वीकृत भएर आएपछि गुरुयोजना तयार गरी भौतिक पूर्वाधार निर्माणका काम थालिने जानकारी पनि उहाँले दिनुभयो । साथै यसवर्ष बाटो मर्मतका लागि नगरपालिकाबाट बजेट विनियोजन गरिएको र आगामी दिनमा आधारभूत विकासका लागि बजेट विनियोजन गरिने उहाँको भनाई थियो ।