२८ श्रावण २०८३, बिहीबार
,
Latest
कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव ‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः मन्त्री पौडेल राेल्पा पहिराेः मृत्यु हुनेकाे सङ्ख्या सात पुग्यो, पाँच अझै बेपत्ता बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्‍याउने प्रश्तावसहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल दलित समुदायको हक र अधिकारका लागि सरकार प्रतिवद्ध, कानून तर्जुमाको प्रक्रिया अन्तिम चरणमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने जनआस्थाकाे कार्यालयमा हातहतियारसहित प्रवेश गरी सामग्री जफत गरिएकोमा प्रेस काउन्सिलको आपत्ति राष्ट्रिय सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको पर्खाइमा आकर्षक गन्तव्य मुठाचौर



अ+ अ-

ढोरपाटन । वरपर घना जङ्गल । बीचमा समथर भूभाग । कतै आलु त कतै सिमी लगाइएका बारी । पाखैभरि भर्खरै अङ्कुराएका आलुबारी । आलुबारी छेउमै काठ, ढुङ्गा र माटोले बनेका चिटिक्कका मौलिक घर । यहाँ पुग्ने जोकोहीलाई यो दृश्यले आकर्षित गर्छ । यो मुठाचौरको विशेषता हो ।

तमानखोला गाउँपालिका(२ स्थित मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । पर्यटकीय क्षेत्र बराह ताल नजिकै रहेको मुठाचौरमा अघिल्लो वर्षमात्रै मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि भयरबोङ्गा कटेरी हुँदै मुठाचौर मोटरबाटो जोडिएको हो ।

प्रशस्त खेतीयोग्य जमिन रहेकोले वर्षौंदेखि यहाँ घुम्ती बसाइँ हुँदै आएको छ । कृषि र पशुपालन गर्दै आएका बयरबोङ तथा कटेरी गाउँका बासिन्दा हरेक वर्ष बर्खाको मौसममा मुठाचौरमा गोठ लगेर बस्छन् । करिब एक सय घर परिवार बसोबास गर्दै आइरहेको मुठौचार क्षेत्रमा मोटरबाटो जोडिएपछि अन्य विकासका सम्भावना खुलेका छन् ।

हरेक वर्ष स्थानीयवासी पाँच महिना मुठाचौरमा बस्छन् । बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुठाचौरबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृङ्खला नियाल्न सकिन्छ । यहाँ बेलाबखत आन्तरिक पर्यटक पुग्ने गर्छन् । अघिल्लो वर्षसम्म फाट्टफुट्ट पर्यटक आउने गरेकामा सडक जोडिएपछि पर्यटकको सङ्ख्या बढेको छ । सडकले पर्यटकलाई मात्र होइन, स्थानीयलाई समेत ठूलो राहत मिलेको छ ।

एक वर्ष अगाडिमात्रै सडक पुगे पनि विद्युत् र खानेपानीको समस्या उस्तै छ । स्थानीयवासीहरु बर्खाको मौसममा यहाँ दियालो र टुकीका भरमा बस्ने गर्छन् । मुठाचौरभन्दा केही तलको कटेरी गाउँसम्म बिजुलीको पहुँच पुगे पनि त्यसभन्दा माथि पुगेको छैन । चाँडै विद्युत् र खानेपानीको सुविधा पुग्ने आशामा स्थानीयवासी छन् । मुठाचौर छेउमै बराह ताल रहेको हुँदा यस क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय ओम पुनले बताउनुभयो ।

अहिले यो ठाउँ चरिचरन र खेतीपातीका लागि मात्रै प्रयोग हुँदै आएकाले थप विकासका पूर्वधार जोड्नसके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने उहाँ बताउनुहुन्छ ।

“वातावरणका हिसाबले यो ठाउँ निकै शान्त छ, हावापानी पनि स्वच्छ छ, अहिलेसम्म मुठाचौरलाई चरिचरन र खेतीपातीका रुपमा प्रयोग गर्दै आइएको छ”, पुनले भन्नुभयो, “अब यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने देखिन्छ, यति सुन्दर ठाउँ अहिलेसम्म विकासका हिसाबले निकै पछाडि परेको छ ।”

असारदेखि वरपरका गाउँलेहरु मुठाचौरमा गोठ लैजान सुरु गर्छन् । असोज कात्तिक लाग्नसाथ गाउँ झर्ने गर्दछन् । मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्दछन् । सडक पुगेपछि मुठाचौरमा उत्पादित आलु, सिमी र कृषिजन्य वस्तु बजारमा ल्याउन सहज भएको स्थानीय मञ्जु रसाइलीले बताउनुभयो ।

सडकका कारण पर्यटक बढ्न थालेको उहाँ बताउनुहुन्छ । हरेक नयाँ वर्षमा मुठाचौर छेउमै रहेको बराह तालमा मेला लाग्ने गर्छ । यस वर्ष अहिलेसम्मकै धेरै पर्यटक यहाँ आएको रसाइलीको भनाइ छ ।

तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बराह ताल र मुठाचौरको विकासका लागि गाउँपालिकाले योजना बनाएर काम गर्न थालेको बताउनुभयो । मुठाचौर क्षेत्र पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले विद्युत् र खानेपानीका लागि पालिकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने उहाँको भनाइ छ ।

बराह ताललाई पर्यटनको केन्द्र बनाई मुठाचौरमा घरबास सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।