२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन निर्माणको रफ्तार बढाउनु पर्ने आवश्यकता छ: राष्ट्रिय सभा अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कानुन निर्माणको काम जुन रफ्तार हुनुपर्ने हो त्यसरी हुन नसकेको बताउनु भएको छ।

संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो।

नयाँ संविधान निर्माणसँगै देशमा संघीय शासन प्रणालीको शुरुवात भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैं बाँकी रहेको बताउनु भयो।

“अहिले कानुन निर्माणको आवश्यकता र कानुन निर्माणको जुन रफ्तार छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “नयाँ संविधान निर्माण भइसकेपछि जुन रफ्तारमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन। यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसद र संघीय संसद गम्भीर हुनु जरुरी छ।”

समयमै कानुन निर्माण गर्न नसक्दा अन्योल र निराशाको खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले देशलाई आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिनुभयो।

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्वपूर्ण हुने भन्दै अध्यक्ष दाहालले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रमहरु सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो।

कानुन निर्माणका विभिन्न चरणहरुबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको उहाँको भनाई थियो।

अभिमुखीकरणमा विधेयक निर्माण प्रकृया, विधेयकको संसदीय चरण, संशोधन प्रकृया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरुको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गर्नुभएको थियो भने राष्ट्रिय सभाका समितिहरु र निगरानी सम्बन्धी कार्यका बारेमा राष्ट्रिय सभाका पूर्वसदस्य राधेश्याम अधिकारी, संघीयता, संघ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध तथा वित्तीय संघीयताबारे राष्ट्रिय सभाका पूर्व सदस्य डा। खिमलाल देवकोटाले प्रस्तुति प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, संसदमा प्रभावकारी भूमिकाको लागि महिला सांसदहरुको सशक्तिकरणबारे पूर्वसभामुख ओनसरी घर्ती, लैङ्गिक तथा समावेशी मुद्दामा संसद र संसदीय समितिहरुले खेल्नुपर्ने भूमिकाका विषयमा राष्ट्रिय सभाका निवर्तमान सभापति दिलकुमारी रावल थापा पार्वतीले बोल्ने कार्यक्रम रहेको छ।

त्यस्तै, राष्ट्रिय सभाको संशोधित नियमावली र सभाको प्रभावकारिताबारे राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्याल र संघीय संसद सचिवालय, सांगठनिक संरचना र सेवा प्रवाहबारे सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिने कार्यक्रम रहेको छ।

संघीय संसद सचिवालयले आयोजना र जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चको सहकार्यमा भएको १ दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटनका अवसरमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले स्वागत तथा कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्नुभएको थियो भने जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चका महासचिव तथा संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारीले विषय प्रवेश गर्नुभएको थियो।