• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो ।

फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताउनुभयो । उहाँका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।

मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ ।

प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको छ । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्व छ ।