• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

सञ्चालनमा आयो मर्स्याङ्दी जलाशयमा मोटरबोट



दमौली । पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो ।

गण्डकी प्रदेशका बिना विभागीयमन्त्री हरिबहादुर चुमानले आज मोटरबोटको शुभारम्भ गर्दै पर्यटनलाई समृद्धिसँग जोड्ने पालिकाको अभियान सकारात्मक रहेको चर्चा गर्नुभयो । उहाँले जलविद्युत, कृषि, पर्यटन समृद्धिका आधार रहेकाले यसलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरेर उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । जलाशय नजिक प्रसिद्ध धार्मिकस्थल अल्कादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमार्फत आकर्षित गर्न सकिने उहाँको भनाइ छ ।

अध्यक्ष चुमानले पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाईसमेत मोटरबोटमा आकर्षित गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनका क्षेत्रमा केही नवीन काम गर्ने जमर्को गरेका छौँ । ऐनापहरामा उद्यान निर्माणाधीन छ भने आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने योजना बनाएका छौँ ।”

सो जलाशयमा तत्कालका लागि रु एक करोडको लगानी गरिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले जानकारी दिनुभयो । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकका लागि थप पर्यटकीय गन्तव्यको विकास गर्न सकिने उहाँको भनाइ छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिएको छ ।

कम्पनीले थप रु तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचनाहरू बनाउने योजना रहेको जनाएको छ ।

यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले जानकारी दिनुभयो ।

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरकफरक शुल्क कायम गरिएको छ । कम्पनीले छ देखि आठ मिनेटसम्म मोटरबोटमा सयर गर्न रु दुई ५० प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति रु पाँच सय र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लाग्ने जनाएको छ । रासस