२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने

पोखरा पर्यटकीय राजधानी घोषणाः हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जग

पोखरा पर्यटकीय राजधानी घोषणाः हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जग
अ अ+ अ-

गण्डकी । सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमन यिनै जगमा फस्टाएको हो पोखराको पर्यटन ।

प्रकृतिको वरदान पाएको पोखराले यिनै जगबाट उठ्दै आज पर्यटकीय राजधानीका रुपमा अर्को पहिचान थपेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुभएको हो ।

पोखराका कुनाकुनाबाट उत्साहका साथ सहभागी स्थानीयको ठूलो उपस्थितिका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री दाहालले “प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दछु”, भन्नुभयो । पोखरावासीले गडगडाहट तालिका साथ वर्षौंदेखिको पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउने सपना–विपनामा परिणत भएको अनुुभूति गरिरहेका थिए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि लामो समयदेखि प्रयास हुँदै आएकामा धेरै समयको प्रयासपछि औपचारिक घोषणाको समय आज मिलेको हो । घोषणाको तयारीका लागि गण्डकी प्रदेश सरकारले प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । उक्त समितिले विभिन्न सुझावसहित सरकारलाई आफ्नो प्रतिवेदन पेस गरेको थियो ।

पर्यटकीय राजधानी बनाउन आवश्यक न्यूनतम आधार उल्लेख गर्दै सो समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव दिएको थियो । आवश्यक पूर्वाधार विकाससँगै दीर्घकालमा निरन्तर पर्यटक आइराख्ने वातावरण बनाउनका लागि सुझाएको समितिले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको व्यावसायिक उडान, त्यहाँबाट सार्वजनिक बस सञ्चालन गर्न, प्रदूषण कम गर्न विद्युतीय गाडीको प्रोत्साहन, पोखराका पर्यटकीय गन्तव्यको नाम र ठाउँबारे नेपाली र अङ्ग्रेजी भाषामा वृत्तचित्र बनाउन तथा पोखरालाई छाडा चौपायामुक्त बनाउनुपर्नेलगायत विभिन्न सुझाव दिएको थियो ।

पर्यटकीय राजधानी घोषणासँगै पूर्वाधार निर्माणलगायत कामलाई प्राथमिकताका साथ अघि बढाउँदै लैजाने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ । पर्यटन राजधानी घोषणाले यहाँको पर्यटकीय पहिचानलाई अझै उँचो बनाएको उहाँले बताउनुुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेली जनताको सपना र अनवरत प्रयासबाट पोखरासहित समग्र गण्डकी प्रदेशको पहिचान थपिएको बताउनुुभयो । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका दृष्टिले अनुपम गन्तव्य पोखरा मुलुककै पर्यटन राजधानी घोषणा हुनु आफूहरूका लागि गौरवको विषय भएको उहाँले बताउनुुभयो । यसले गण्डकी प्रदेशसहित मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपेको उहाँको भनाइ छ ।

पोखरा पर्यटन राजधानी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको पोखराका पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुुभयो । यो घोषणासँगै पोखराको पर्यटकीय गरिमा र महत्वलाई थप उजागर गरेको बताउँदै उहाँले आगामी दिनमा यहाँको प्रवर्द्धनसँगै पर्यटकीय राजधानीस्तरीय पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुुभयो । पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट छ खर्बभन्दा बढी लगानी भइसकेको बताउँदै उहाँले यसको विश्वव्यापी प्रवद्र्धनका लागि तीनवटै तहका सरकार र निजी क्षेत्र सहकार्य गर्दै अघि बढ्नुुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

पोखरामा लगभग वार्षिक १० लाख पर्यटक भित्रने गरेको बताउँदै उहाँले २० लाख पर्यटक भित्र्याउने गरी लाग्नुपर्नेमा जोड दिनुुभयो । “हामी छिमेकी भारत तथा चीनबाट अधिकतम् पर्यटक भित्र्याउने गरी लाग्नुु जरुरी छ”, उहाँले भन्नुुभयो, “यसका लागि प्रवर्द्धनलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुुपर्छ ।”

हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यले पोखरा बास बसेसँगै पोखरा क्रमश: पर्यटकीय गन्तव्यका रूपमा स्थापित बनेको पाइन्छ । इतिहासअनुसार सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए । सन् १९६० को दशकमा हिप्पी पर्यटकको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि सुरु हुँदै यहाँको पर्यटन बिस्तारै फस्टाउन थालेको पाइन्छ । हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनका जगमा फस्टाउँदै गएको यहाँको पर्यटनमा त्यस यता व्यवसायीहरूले लगानी थप्दै गएको व्यवसायी बताउँछन् ।

माछापुच्छ्रे फेवातालमा पौडने, तालै तालको सहर, आदि उपमा पाएको पोखरामा पछिल्ला समयमा विभिन्न पर्यटकीय पूर्वाधार पनि निर्माण भइरहेका छन् । विभिन्न राष्ट्रबाट आउने पर्यटकका साथै अतिविशिष्ट व्यक्तिले पनि यहाँको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । समय समयमा विदेशी अतिविशिष्ट व्यक्तिले भगवान्ले फुुर्सदमा बनाएको सहरजस्ता उपमा दिनुले पनि यहाँको महिमा र गरिमा अझै चुलिएको छ ।

इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीय र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णन्ले पनि पोखराको भ्रमण गर्नुभएको थियो ।

त्यसयता पोखरामा विसं २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन)मा सार्क राष्ट्रका विशिष्ट पाहुनाहरूले पोखराको भ्रमण गर्नुुभएको थियो । त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि विसं २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको सौन्दर्यता विश्वमाझ पुुगेको थियो ।

पोखरामा विसं २०७६ कात्तिकमा बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बन्नुुभएको थियोभने यही वर्ष कात्तिक १३ गते पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस यहाँ आएर नौका विहारदेखि पुम्दीकोटमा हिमालको दृश्यावलोकन गर्दै यहाँको सुन्दरताको प्रशंसा गर्नुुभएको थियो ।

पोखरा आउने पर्यटकले फेवातालमा डुबुल्की मारेजस्तै देखिने माछापुच्छ्रे हिमालसहितको दृश्य अवलोकनसँगै आसपासका लेखनाथ क्षेत्रका बेगनास, रुपालगायत तालतलैयाको अवलोकन गर्ने गरेका छन् । त्यस्तै, सराङकोटबाट सूर्योदयको अवलोकनसँगै प्यारग्लाइडिङ, जिपलाइन आदि गर्ने गर्दछन् । पोखराका प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल विन्दुवासिनी, तालबाराही, भद्रकाली आदिको दर्शनसँगै हालै पुम्दीकोटमा बनेको विशाल महादेव मूर्ति, विश्व शान्ति स्तुपसँगै काहुँ धरहरा आदिको अवलोकन गर्दछन् । पोखराका पातले छाँगो, गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरे गुफा आदि यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । यिनै विधितालाई देखेर नै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा भन्नुभएको छ,

“कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् ।
कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।।
कहीँ छन् छहरा मात्रै पहरा कहीँ केवल
नदी मात्रै कहीँ बग्छन् कहीँ छन् खाली जङ्गल ।।
सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा
तर सम्पूर्ण शोभाले परिपूर्ण छ पोखरा ।।”

सुन्दर प्राकृतिक विविधताले सजिएको पोखरा पर्यटकीय राजधानी घोषणा हुनुु यहाँको मात्र नभै गण्डकी प्रदेश र समग्र नेपालकै पर्यटनको लागि महत्वपूर्ण उपलब्धि भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठको भनाइ छ ।