१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीको कलेजोले बाबुले नयाँ जीवन पाए



अ+ अ-

कास्की । पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ ।

विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उहाँले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो । एक वर्षदेखि उहाँलाई रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो । लामिछानेको कलेजो क्षतिग्रस्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रूपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए ।

कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उहाँको अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नुपर्ने र यसबाट खर्चसमेत कम हुने भएकाले उहाँले परिवारसँग सल्लाह गर्नुभयो । तीन छोरी र दुई छोराका बाबु लामिछानेको कलेजो प्रत्यारोपणका लागि परिवारमा छोरा–बुहारीसँग रक्त समूह मिलेन । रोगले दिनानुदिन च्याप्दै जानु र प्रत्यारोपणका लागि उपयुक्त व्यक्ति नपाउँदा लामिछानेले जीवनको आश मारिसक्नुभएको थियो ।

अन्तिममा उहाँकी जेठी छोरी पोखरा–३० पावरहाउस बस्ने रञ्जना लामिछाने बरालको रक्तसमूह मिलेर प्रत्यारोपण गर्न मिल्ने भयो । त्यसका रञ्जनाको घरबाट समेत स्वीकृति मिल्यो । रञ्जना बाबुको जीवन बचाउन जोखिम उठाउनुभयो र आफ्नो कलेजो बाबुलाई दिन तत्कालै तयार हुनुभयो ।

साहसपूर्वक आफ्नो कलेजो दिएर बुबालाई नयाँ जीवन दिन रञ्जना तयार भएपछि लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो रोगका कारण थलिएर जीवनमरणको दोसाँधमा उभिनुभएका लामिछानले छोरीले कलेजो दिएपछि पुनर्जीवन पाउनुभएको छ । छोरी रञ्जनाले आफ्नो कलेजो दिन तयार हुनुभएको र अहिले बाबुछोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छोरा सुशीलले बताउनुभयो ।

“बुबाको कलेजो प्रत्यारोपण गर्नु नै थियो, तर मिलिरहेको थिएन, त्यसले गर्दा बुवालाई बचाउन सकिँदैन कि भनेर हामी चिन्तित थियौँ”, सुशीलले भन्नुभयो, “अन्तिममा दिदीले दिन मिल्ने भएपछि कलेजो सफलतापूर्वक प्रत्यारोपण भएको छ, अहिले बुवा र दिदी दुवै जना स्वस्थ हुनुहुन्छ, कुनै समस्या छैन ।”

आफ्नो कलेजो बुवासँग मिल्नु र प्रत्यारोपण कार्य सफल भएपछि रञ्जना पनि खुसी हुनुहुन्छ । बाबुआमाका लागि जस्तोसुकै अप्ठ्यारो र दुःखमा साथ दिनुपर्ने छोराछोरीको कर्तव्य आफूले पूरा गर्न पाउँदा धेरै खुसी लागेको दिदीले भनेको सुशीलले बताउनुभयो । दिदीलाई एक हप्ता र बुवालाई दुई हप्ताजति अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएको जानकारी दिनुभयो । रासस