काठमाडाैँ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रत्यक्ष प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि परेको छ। नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिँदै मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री आचार्यलाई समर्थन फिर्ताको पत्र बुझाउँदै कांग्रेसबाट सरकारमा सहभागी पाँच मन्त्रीको सामूहिक राजीनामा समेत पेश गरेकी हुन्।
सरकारबाट अलग हुने निर्णयसँगै सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले पदबाट राजीनामा दिएका छन्।
केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणअनुसार प्रदेश सरकारमा पनि सत्ता साझेदारी परिवर्तन गर्ने तयारीस्वरूप कांग्रेसले समर्थन फिर्ता लिएको हो।
कांग्रेस सरकारबाट बाहिरिएपछि लुम्बिनीमा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता सहकार्यको तयारी अघि बढेको छ। नयाँ सरकार गठनसँगै मन्त्रालय बाँडफाँट र मन्त्री नियुक्तिका विषयमा दुवै दलका शीर्ष नेताबीच छलफल भइरहेको बताइएको छ।











