२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासमितिले कांग्रेसको नीति बनायो कि भत्कायो ?



अ+ अ-

काठमाडौं । चार पटक स्थगित भएर र संस्थापन पक्षले नचाहँदा नचाहँदै बसेको कांग्रेस महासमिति बैठक अलमलमै सकिएको छ । कांग्रेसको आगामी नीति तय गर्ने भनिए पनि महासमितिले त्यस्तो कुनै नयाँ काम गर्न सकेन ।

महासमिति बैठकले पार्टी संगठन निर्माण, संविधान संशोधन र सरकारको कामकारबाहीबारे कुनै पनि निर्णय लिन सकेन । उल्टै विषयलाई गिजोल्ने काम मात्र भयो । संविधान विपरित हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने माग बढ्यो र जबरजस्त उठेको यो मागले नेतृत्वलाई नै अप्ठ्यारो बनाइदिएको छ ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका थिए । यी प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा महासमितिमा गरिएको छ । तर प्रस्तावभित्रका विषयले भने कांग्रेसमा विवाद बढ्ने निश्चित छ ।

विशेष गरी चुनावी गठबन्धन नगर्ने भन्ने महामन्त्री थापाको प्रस्तावमा संस्थापन समूह असन्तुष्ट छ । बैठकमै सभापति शेरबहादुर देउवाले गठबन्धनको विकल्प नरहेको बताइसकेका छन् । तर महामन्त्री थापा अब यही महासमितिको बैठकले पारित गरेको प्रतिवेदन देखाएर गठबन्धनको विरोध गरिरहने छन् । त्यसले पनि कांग्रेसलाई अप्ठ्यारो पार्न सक्छ ।

कांग्रेसभित्रको गठबन्धनको बहसले अन्य विषय छायामा परे । यो विषय यति चासोको बन्यो कि महासमिति बैठक उद्घाटन भइसक्दा पनि सांगठनिक प्रतिवेदन टुंगो लागेन । सभापति देउवा र महामन्त्री थापाको आ–आफ्नै अडानबीच यसमा मध्यमार्गी प्रस्ताव गरेर भविष्यमा चुनावी गठबन्धन नगर्ने भन्नुको सट्टा एक्लै चुनाव लड्छौं भन्ने भाषा प्रयोग गरियो ।

त्यसो त महासमितिको समापन गर्नुअघि सभापति देउवाले महासमिति बैठकले नेपाल र नेपाली कांगेसको राजनीतिमा विशिष्ट ऐतिहासिक महत्व राख्ने दाबी गरेका छन् । उनले बैठक सफलताका साथ सम्पन्न भएको पनि बताए । तर महासमितिका निर्णयपप्रति उनले अपनत्व लिन्छन् कि लिँदैनन् भन्ने स्पष्ट भन्न सकिने आधार चाहिँ छैन ।

महासमिति बैठकमा चर्चा र चासोमा रहेका धेरै विषय ओझेलमा परे । सदस्यता, नेतृत्व चयन प्रणाली, उम्मेदवार छनोट विधि लगायतका २० बुँदे सांगठनिक सुधारको कार्ययोजनमा छलफल नै भएन । हुलमुलमा सबै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको भनिए पनि अब यिनै प्रतिवेदनलाई लिएर कांग्रेसमा थप विवाद नहोला भन्ने आधार देखिँदैन ।