११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक सम्पन्न, बैठकमा के-के भए निर्णय



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनलाई बदर र १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्चले मंगलबार गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । मंगलबार सर्वोच्च अदालतले उक्त प्रतिनिधि सभा विघटनलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने फैसला गरेको थियो । बैठकको निर्णय सार्वजनिक गर्दै नेकपा ओली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भन्नुभयो ‘नेकपा शक्ति पृथकीकरण, लोकतन्त्रका आधारभुत मूल्य, मान्यताहरु र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । हिजो संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौँ ।’

समग्र परिस्थितिको बारेमा छलफल गर्न पार्टीको केन्द्रीय कमिटीको बैठक र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको पनि प्रवक्ता ज्ञावालीले बताउनुभयो । देशका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रमहरु स्वरुप परिवर्तन गरी स्थानीय अनुकुलतामा निरन्तरता दिइने निर्णय भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘देशका विभिन्न ठाउँका कार्यक्रमले निरन्तरता पाउँछन् । कहिं कहिं स्वरुप परिवर्तन होला तर हामीले जनताको बीचमा जे उद्देश्यका साथ हाम्रा भनाईहरु, सन्देशहरु लैजानेगरी कार्यक्रमको तर्जुमा गरेका छौँ । स्थानीय अनुकुलता हेरेर निरन्तरता दिन्छौँ ।’

प्रवक्ता ज्ञवालीले अदालतले दिएको समयसीमा भित्रै संसद अधिवेशन आव्हान हुने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुुहुन्छ की दिनुहुन्न भने सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ प्रवक्ता ज्ञवालीले विभिन्न राजनीतिक दलहरुसँग छलफलमा रहेको र आवश्यक परामर्शपछि राजीनामा दिने नदिने विषय टुङ्गो लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी दलहरुसँग छलफलमा छौँ । उहाँहरुको कुरापनि सुनेका छौँ, उहाँहरुसँग कुरा गरिरहेका छौँ । मुलुकलाई एउटा अन्योलतामा राख्नु हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ, आवश्यक परामर्शपछि ।’

स्थायी कमिटी बैठक बिहीबार पुनः बस्ने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।