काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार तथा आकस्मिक उपचारका लागि प्राविधिक टोली परिचालन गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत नदी तटीय क्षेत्रमा प्रभावित पशुपन्छीको उद्धार, उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षा कायम गर्न औषधिसहितको प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री गिता चौधरीको निर्देशनमा परिचालित टोलीले प्रभावित क्षेत्रमा पुगेर घाइते पशुपन्छीको उपचार तथा आवश्यक प्राविधिक सेवा उपलब्ध गराउनेछ। साथै, बाढीका कारण मरेका पशुपन्छीको सुरक्षित व्यवस्थापन र रोग फैलिन नदिन जैविक सुरक्षाका आवश्यक उपायसमेत अपनाइने जनाइएको छ।
यसैबीच, पशु सेवा विभागले विपद्को समयमा उद्धार तथा उपचार कार्यमा सहकार्य गर्न सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, पेशागत संघसंस्था, उद्यमी तथा व्यवसायी, पशु कल्याणसम्बन्धी संस्था, निजी पशु सेवाकर्मी तथा नागरिक समाजलाई आह्वान गरेको छ।
विपद्बाट प्रभावित पशुपन्छीको संरक्षण, उपचार र सुरक्षित व्यवस्थापनका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेको विभागले जनाएको छ।









