• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

के प्रचण्ड सत्ताको काँध फेर्न तयार भएका हुन् ?



अघिल्लो महिना भएको राष्ट्रियसभाको निर्वाचनपछि सत्ता गठबन्धन दलहरुका बीचमा खटपट सुरु भएको देखिएको छ । यो छटपटीका केही झिल्काहरु छिटपुट रुपमा बाहिर निस्किएको पनि देखिएको छ । त्यसो त काँग्रेस र माओवादी पार्टीभित्रका दुई अलगअलग गुटले पनि यो गठबन्धनप्रति प्रश्न उठाउँदै पनि आएका हुन् । त्यो भित्री प्रश्नलाई गत महिनाको राष्ट्रियसभाको निर्वाचनले सतहमा ल्याइदिएको देखिएको छ । त्यसैले राष्ट्रियसभाको निर्वाचन अन्तर्गत कोशी प्रदेशबाट सुरु भएको यो खटपट पनि कोशी प्रदेशबाटै निर्वाचनमा जितेर आएका कृष्ण सिटौलासम्म आएर टुंगिने देखिन्छ । त्यो चुनावका बाछिटाहरु यसै महिना हुन लागेको राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनसम्मै पुग्ने देखिएको छ । किनभने काँग्रेस र माओवादी राष्ट्रियसभाको अध्यक्षमा आ–आफ्ना दाबी पेश गरिरहेका छन् ।

मुख्यगरी काँग्रेस र माओवादीको यो सत्ता गठबन्धन राष्ट्रियसभाको निर्वाचनमा पनि एक भएर गएको भए पनि कोशीमा कांग्रेसले धोका दिएको माओवादीको ठहर छ । कोशी प्रदेशमा माओवादी उम्मेदबार हारेर उता विपक्षी दल एमालेले जित्ने स्थिति पैदा हुनु नै गठबन्धनमा दरार उत्पन्न गर्न खोजिएको रुपमा माओवादीले लिएको छ । हुनत यो रिस पार्टी सभापति शेरबहादुर देउवाको इतर पक्षका रुपमा रहेको शेखर कोइरालाको गुटले देउवासँग नै फेरेको हो तर पनि उनीहरुले पनि यो तिरले दुई तिर हान्नेगरी तयारी थालेका बुझिन्छ । जसका कारण एकातार्फ आफ्नो उम्मेदबार मात्र आउनेछ भने अर्कातर्फ सत्ता गठबन्धनमा धाँजा फाट्न पनि यसले सघाउने कोइराला समूहको बुझाइ थियो । आखिर त्यही भयो । किनभने कांग्रेसले धोका दिएको निष्कर्षमा माओवादी पुगेको छ ।

माओवादीभित्र अहिले पनि सत्ताको वर्तमान गठबन्धन फेर्नुपर्छ भन्ने कित्तामा वर्षमान पुन र देब गुरुङहरु छन् । यो उनीहरुको सुरुदेखिकै लाइन हो । उनीहरु पार्टीभित्र पनि यसका लागि लबिङ गरिनै रहेका छन् । विगतमा यो लबिङमा नारायणकाजी श्रेष्ठ पनि थिए तर अहिले उनी गृहमन्त्री रहेकाले पद जाने डरले खासै बौल्दैनन् । उनीहरुका लागि पनि कोशीको चुनावले बल थपिदिएको छ । सो चुनावपछि उनीहरुको स्वर थप बलियो भएको छ । त्यसैले उनीहरु अहिले पनि पार्टीका औपचारिक बैठकहरु जस्तो पदाधिकारी होस् या सचिवालय बैठकमा पनि यो प्रसंग ल्याइहाल्छन् । उनीहरु बामपन्थी एकता हुनुपर्छ र सत्ताका लागि हुने गठबन्धन पनि बामपन्थी अर्थात् एमालेसँग नै हुनुपर्छ भन्ने लाइनमा स्पष्ट छन् । उनीहरुको यो दबाबमा अध्यक्ष प्रचण्ड पर्दै आएका छन् । प्रचण्ड भने अहिले नै सत्ता गठबन्धनमा फेरि फेरबदल गर्नु हुदैन भन्नेमै रहँदै आएका हुन् ।

पार्टीको अघिल्लो हप्ताको पदाधिकारी बैठकमा प्रचण्डले पनि स्वर फेरेका छन् । उनले कांग्रेसले धोका दिएकै हो र यसबाट अब हामीहरु पाठ सिकेर अघि बढ्नुपर्दा यो गठबन्धनको विकल्प पनि खोज्नुपर्ने हो कि भनेर सोच्नुपर्ने बताएका थिए । उनले भनेका थिए– बिगतमा पनि हँदै त आएकै हो र यसपटक पनि कांग्रेसबाट पुन: र राम्ररी नै धोका भयो । त्यसैले अबका दिनमा यसैगरी अघि बढ्न गाह्रो छ ।

गठबन्धनका विषयमा बडो बचेर र सन्तुलन कायम गरेर उनले दिएको यो अभिव्यक्तिमा सत्ताको वर्तमान सहयात्री फेरेर काँग्रेसबाहेक अर्को पक्ष अर्थात एमालेसँग सहकार्य गर्ने भनेर त भनेनन्, तर पनि काँग्रेससँगको गठबन्धनको सरकार बनेपछि उनले पहिलो पटक काँग्रेसका बारेमा गरेको यो टिप्पणी भने कडा हो । हुनत उनले पार्टीका पदाधिकारीहरुलाई चित्त बुझाउन पनि त्यसो भनेका हुनसक्छन् । किनभने प्रचण्ड भिड र मत हरेर मिलाएर बोल्ने गर्दछन् । तर पनि राष्ट्रियसभामा आफ्नै पार्टीका सांसद हारेर अर्को अर्थात् विपक्षी दललाई जिताउने गरी भएको गतिविधिका कारण भने उनी अहिले यतिखेर नाजवाफ भएका छन् ।

यसै साता माधव नेपालले काठमाडौँ बाहिरको एक कार्यक्रममा यो गठबन्धन सरकारबाट मुलुकले निकास नपाउने अवस्था आफूले देखेको बताए । उनले यो अभिव्यक्ति पार्टीको बैठकमा नभएर सार्वजनिक कार्यक्रममा नै दिएका हुन् । उनी पनि सत्ताको गठबन्धनमा संसदीय अंकगणित अनुसार लगभग निर्णायक शक्तिकै रुपमा छन् । अनि अर्को कुरा उनले सो कार्यक्रममा हाम्रो सत्रु एमाले होइन पनि भनेका छन् । पार्टीसँग त्यति ठूलो दुष्मनी आफूहरुको नरहेको आसय पनि उनले व्यक्त गरेका थिए । एमालेसँगको प्रचण्डको गठबन्धनमा खास बाधक माधव नेपाल थिए र अहिले पनि हुन् भन्ने अधिकांशको बुझाइ छ । ओलीले चाहँदा प्रचण्डलाई नजिक्याउन सक्छन् तर माधव नेपालसँग सहकार्य उनी चाहँदैनन् । यता प्रचण्डलाई पनि माधव नेपाल छोडेर जान नैतिक धराप छ । त्यसैले नेपालको यो पछिल्ले अभिव्यक्तिले ओलीलाई सहज पो बनाउने हो कि भन्ने आँकलन गर्दा गल्ती हुदैन होला ।

अहिले बाम एकताका कुरा छिटपुट आएका पनि छन् । अनि यता सत्तामा खटपट आफ्नै दलका कारण झन् बढ्दो छ । माओवादीको विधान अधिवेशनमा पनि यी धेरै कुरा आए भने अब काँग्रेसको महासमितिमा पनि आउनेवाला नै छ । किनभने शेखर कोइराला खुलेरै माओवादीसँग सत्ता साटेर अघि बढ्नुुहन्न भनिरहेकै छन् । त्यो आवाज महासमितिमा झन् चर्को हुनेवाला किन पनि छ भने गगन थापा पनि पछिल्लो समयमा माओवादीसँगको सहकार्यको आलोचनामा उत्रिएका छन् । उता एमालेले भने अहिलेको सत्ता गठबन्धन तोड्ने ढोक्सा थाप्न समय कुरेरै बसिरहेको छ । के त्यसो भए अहिले काँग्रेसलाई बोकेको काँध फेरेर एमालेलाई काँधमा चढाउन प्रचण्ड तयार भएका हु्न् ? या हुने अवस्थामा पुग्दैछन् ? यो प्रश्नको जवाफका लागि काँग्रेसको महासमिति र त्यसपछिको राष्ट्रियसभाको अध्यक्षको निर्वाचनसम्म कुर्नुपर्ने भएको छ ।