६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्थलीमा ‘डोको डस्टविन’ अभियान



file photo
अ+ अ-

मन्थली । जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप–काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन् ।

जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो ।

रामेछाप–काठमाडौँ सिर्जनशील समाजले मन्थलीको वाणिज्य बैंक चोकबाट रेडक्रस लाइन हुँदै कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, जिल्ला हुलाक, टेलिकम, पशुसेवा केन्द्र, घरेलु उद्योग हँुदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्रसहित कृषि विकास बैंकको चोकसम्मको चक्रपथ सडकमा करिब ४३ डोको राखिएको समाजका अध्यक्ष विपिन भट्टराईले बताउनुभयो ।

नगरपालिकाले बजार क्षेत्र हुँदै मन्थली अस्पताल चोकबाट देवकोटा–बिपी–मदन आश्रित चोकसम्म करिब दुई सय डोको डस्टविन राखेको नगरप्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो । बजारको सरसफाइलाई मध्यनजर गर्दै पहिलो चरणमा वडाध्यक्षसँगको समन्वयमा बजार क्षेत्रका वडाबाट अभियान थालिएको भन्दै अन्य वडामा पनि क्रमश: अभियान विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो ।

स्थानीयस्तरमा उत्पादन भएका डोको वातावरण मैत्री हुने तथा उत्पादित सामान पनि बिक्री हुने भएकाले यसलाई छनोट गरिएको समाजका अध्यक्ष भट्टराईले बताउनुभयो । संस्थाबाट डोकोबापत सङ्कलन भएको रकमले स्थानीयको आर्थिक अवस्थामा टेवा पुग्ने उहाँको भनाइ थियो ।

यो अभियान सञ्चालनपश्चात सरकारी कार्यालयमा आउने सेवाग्राही र बजारमा आउने नागरिकले प्रयोग गरेको पानीका बोतल, अन्य फोहरजन्य वस्तु डस्टविनमा सङ्कलन गरी भोलिपल्ट बिहान नगरपालिकाले उक्त फोहर व्यवस्थापन गर्ने गरेको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली बजारमा अधिकांश ठाउँमा स्टयान्ड बनाएर डोको डस्टविन राखिएको छ ।

डोको डस्टविनले स्थानीय उत्पादनलाई बजारीकरणमा सहजीकरण हुनु र बजार क्षेत्रमा जथाभावी फोहर तथा प्लाष्टिक फाल्ने, सडकमा वा पसल अगाडि फोहर थुपार्नेलगायत क्रियाकलापबाट बजारको सौन्दर्यलाई बचाइराख्नुका साथै व्यापारव्यवसाय थप चलायमान हुने अपेक्षा लिइएको स्थानीय व्यवसायी रामहरी उप्रेतीले बताउनुभयो । उहाँले यसअघि डोको नराख्दा जथाभावी फोहर थुपार्ने गरिएकामा अभियानपछि बजार सुन्दर र सफा देखिएको बताउनुभयो ।

यस्तो अभियान यसअघि अन्य जिल्लामा भएका भन्दै अहिले मन्थली सदरमुकाममा सुरु भएपछि आफू उत्साहित भएको स्थानीय टङ्क श्रेष्ठले बताउनुभयो । सदरमुकाममा मात्र नभई जिल्लाका सबै पालिकाले यस किसिमका अभियान थाल्नुपर्ने उहाँको भनाइ थियो ।

यसअघि जिल्ला समन्वय समिति रामेछापले तय गरेको ‘सभ्य, समृद्ध र सक्षम रामेछाप’को नारालाई पूरा गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीय बताउँछन् ।