९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक नेतृत्वमा गोलबन्द हुनुपर्छः प्रधानमन्त्री

अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक नेतृत्वमा गोलबन्द हुनुपर्छः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सोनाम ल्होछार–२८६० का अवसरमा आज टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उहाँले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताउनुभयो ।

“म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस्”, प्रधानमन्त्रीले भन्नुभयो, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।”

आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा सात सय ५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयको स्थापनामा महत्वपूर्ण काम भएको स्मरण गर्दै उहाँले अहिले सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।

यसअवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै प्रधानमन्त्री दाहालले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयतालाई सुदृढ गर्न प्रदेशलाई बलियो बनाउनलाई उच्च प्रथमिकतामा राखिएको छ, मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐनलगायतका ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।”

पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्न दशौँ हजार वीरयोद्धाले बलिदान गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।”

प्रधानमन्त्री दाहालले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोनाम ल्होछार पर्व मनाउन तामाङ समुदायलाई सरकारका तर्फबाट प्रदान गरिने सहयोगलाई वृद्धि गरिने बताउनुभयो ।

उहाँले सोनाम ल्होछारले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल तामाङ घेदुङ मुल समारोह समितिका अध्यक्ष वीरबहादुर योञ्जनलगायतले तामाङ समुदायको इतिहास, राज्यमा पु¥याउँदै आएको योगदानलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको छ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्गका रुपमा रहेको छ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो ।

नेपालमा मात्र नभई चीन, मङ्गोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष)मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् ।

सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् ।

महोत्सवका अवसरमा तामाङ समुदायको वेशभूषा, रहनसहन, खानाका परिकारसहित समेटिएको सयौँ भन्दा बढी प्रदर्शनी कक्ष राखिएको थियो । महोत्सवमा कुलागी, लुकुनी, स्यान्थापलगायतका पराम्परागत पोसाकामा सजिएका युवायुवती डम्फू र टुङ्गाको धुनमा नृत्य प्रस्तुत गरेका थिए ।

काठमाडौँ वरपर काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, नुवाकोट, मकवानपुर, रसुवा र धादिङलगायत जिल्लामा बसोबास रहेको तामाङ समुदायको जनसङ्ख्या करिब १६ लाख रहेको बताइएको छ । यस वर्षको सोनाम ल्होछार बिरालो वर्षको बिदाई र ड्रागनको स्वागत गरेर उक्त समुदायले मनाएको छ । बागमती प्रदेशले तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरेको छ ।

सो अवसरमा प्रधानमन्त्रीलाई तामाङ समुदायले लगाउने टोपी र कोट लगाइदिएर सम्मान गरिएको थियो । समारोहमा प्रधानमन्त्री दाहालले बागमती प्रदेशका मन्त्री तीर्थ लामालगायत तामाङ समुदायको विभिन्न विधाका अगुवा व्यक्तित्वलाई सम्मान गर्नुका साथै विश्व कीर्तिमानी मोहन घिसिङलाई सम्मान गर्नुभएको थियो । लामा गुरुहरुले मन्त्रोचरण गरी शुभारम्भ भएको समारोहमा चिनियाँ सांस्कृतिक टोलीले ड्रयागन नृत्यसमेत प्रस्तुत गरेको थिए । रासस