१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदा क्षेत्रको सम्पत्ति र दायित्व विधिपूर्वक ग्रहण गर्न तयार छौँ – उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौं । २०७२ सालको भूकम्पले भत्किएका तथा जीर्ण भएका सम्पदामध्ये थापाथली – टेकुदोभान नदी किनाराका थप १३ वटा संरचनाको सवलीकरण तथा पुननिर्माण सम्पन्न भएको छ ।

एशियन विकास बैङ्कको ऋण सहायताबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना कार्यान्वयनमा ल्याएको हो । ३ चरणमा कार्यान्वयन गरिएको परियोजनामा जीर्ण सम्पदाको पुन:निर्माण, सवलीकरण (रेक्टोफिटिङ्), मर्मत सम्भार तथा सौन्दर्य वृद्धि गर्ने काम भइरहेको हो । यसमा लागतको ५० प्रतिशत नेपाल सरकारले व्यहोरेको छ । बाँकी ५० प्रतिशत एशियाली विकास बैङ्कको ऋण सहयोग हो ।

यसअन्तर्गत पहिलो चरणमा पुननिर्माण तथा सवलीकरण गरिएका ११ वटा संरचना गुठी संस्थानलाई हस्तान्तरण भइसकेका छन् । दोस्रो चरणमा पुननिर्माण भएका सम्पदा हस्तान्तरण विषयमा आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बस्यो । पहिलो चरणमा हस्तान्तरण भएका सम्पदाहरुको उपयोग भएको छैन । दोस्रो चरणमा पुननिर्माण भएका सम्पदा कसरी हस्तान्तरण गर्ने, यसको दायित्व कसमा रहन्छ? बैठक यही विषयमा केन्द्रीत थियो ।

त्यस क्रममा उपप्रमुख डंगोलले भन्नुभयो, ‘विधि निर्माण गरेर प्रक्रियागत रुपमा आउने हो भने महानगरपालिकाले सम्पत्ति र दायित्वको जिम्मेवारी लिन्छ । यसका लागि कानुनी व्यवस्था स्पष्ट पारौँ ।’ निजी गुठीहरुको बारेमा संवेदनशील भएर निर्णय गर्नु पर्ने बताउँदै उहाँले भन्नुभयो, ‘मानवीय सभ्यता, परम्परा, संस्कार र संस्कृतिसँग जोडिएका ठाउँको मूल्य र मान्यता संरक्षण गर्ने दायित्व हाम्रो हो । हामी जोगाउँछौँ । हामीले ग्रहण गर्ने विषय निर्विवाद हुनुपर्छ ।’

‘हस्तान्तरण भएर सम्पत्ति मात्र आउँदैन । ऋणलगायतका दायित्व पनि आउँछन् । त्यसैले निर्णय हुनुअघि सबै विषय स्पष्ट हुनुपर्छ ।’ बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘यसको पूर्व अवस्था के थियो, पुन:निर्माण र सवलीकरणमा गरिएको कामको प्राविधिक गुणस्तरका विषयमा विस्तृत विवरण तयार पार्नुपर्छ । हस्तान्तरण भएर आएको सम्पत्ति कुन अवस्थाको हो, अभिलेखन गर्नुपर्छ । यसपछि हस्तान्तरणको प्रक्रिया अगाडि बढ्छ ।’

बैठकमा सल्लाहकार सन्तोष गिरी र कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले हस्तान्तरण र संरक्षण विधि सम्बन्धी मस्यौदा प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तावमा महानगरपालिकाका प्रमुख वा उपप्रमुखको संयोजकत्वमा सम्बन्धित वडाका अध्यक्ष, गुठी संस्थान, पुरातत्व विभाग, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, विषय विज्ञसहित सर्वपक्षीय सहभागितामा व्यवस्थापन समिति गठन गर्ने उल्लेख छ । यस क्षेत्रमा नियमित, मध्यकालीन तथा दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय कार्यक्रम सञ्चालनको योजना तर्जुमा गर्ने, वार्षिक बजेट तर्जुमा गर्ने, जनशक्ति व्यवस्थापन गर्ने प्रक्रियाबाट यस क्षेत्रको संरक्षण, संवर्धन, रेखदेख र व्यवस्थापन गर्ने प्रस्तावमा उल्लेख छ ।

यस क्षेत्रम सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदा छन् । ती मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति र परम्परासँग सम्बन्धित छन् । सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित कथा छन् ।
मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको ठाउँ हो । प्रमाणित तथ्य र प्रामाणिक अभिलेख नभएका सम्पदासँग जनश्रुति र कथनसँग सम्बन्धित कथा छन् ।
२ किलोमिटर दुरीभित्र भएका भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्ष कलाकारिता, सभ्यता र पर्यटनबाट उजागरका लागि स्रोत हुन् ।
यसरी हेर्दा नदी खण्डलाई मूर्त, अमूर्त र प्राकृतिक सम्पदाको त्रिवेणी मान्न सकिन्छ ।

पहिलो चरण : पुन:निर्माणपछि हस्तान्तरण 

परियोजनाको पहिलो चरणमा पुननिर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण भइसकेका छन् । ३८ करोड ८२ लाख ६२ हजार १७६ रुपैयाँ लागतमा निर्माण भएका सम्पदाका लागि एशियाली विकास बैङ्क र नेपाल सरकारको आधा आधा रकम छ । यसको निर्माण पक्ष बीकेओआइ पचली भैरव हो ।

हस्तान्तरण भएका मानन्धर सत्तल, मुन्सी घाट सत्तल, पञ्चनारी घाट निजी गुठी हुन् । शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, राजभण्डारी सत्तल, पुरोहित घाट सत्तल, वेस्ट सत्तल गुठी संस्थानलाई हस्तान्तरण गरिएको हो ।

दोस्रो चरण सवलीकरण सम्पन्न : हस्तान्तरण  गर्ने प्रक्रियामा

दोस्रो चरणमा ४८ करोड ६४ लाख १६ हजार १९२ रुपैयाँ लागतमा १३ वटा सम्पदा संरचना पुन:निर्माण सम्पन्न भएका छन् । यीमध्ये माथेमा सत्तल निजी गुठी हो । अहिलेसम्म यसका गुठीयार सम्पर्कमा आएका छैनन् । त्रिपुरेश्वरमा रहेको धर्मशाला नेपाल प्रहरीले प्रयोग गरिरहेको छ ।

तीन देवल मन्दिर, नारायण सत्तल, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तलको सवलीकरण भइसकेको छ । बम बिकटेश्वर परिसरको सीमा पर्खाल लगाइएको छ । यसकै प्रवेश द्वार, चौघेरा सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण शुभद्रा मन्दिर, शिव मन्दिर सवलीकरण भइसकेका छन् ।

तेस्रो चरण : काम गर्न बाँकी

तेस्रो चरणको काम ४५ करोड १३ लाख १२ हजार २८५ रुपैयाँ लागतमा भइरहेको छ । यसमा कालमोचन घाट सत्तल, बैरागी सत्तल, उदासी सत्तल र सन्यासी सत्तल पुननिर्माण भइरहेको हो ।