१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म

दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म
अ अ+ अ-

सुन्दरबजार । लमजुङ जिल्लाको दोर्दीका राजेन्द्र विकलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ छ । यतिबेला वर्षायाममा गाउँका अधिकांश खेत रोपाइँमा व्यस्त रहँदा पनि उहाँ भने घरसँगैको कटेरामा बसेर दारको काठबाट विभिन्न सामग्री बनाउनै व्यस्त हुनुहुन्छ ।

श्रीकृष्ण हस्तकला उद्योगको नाउँमा दर्ता भएको त्यही टहरोमा बनेका ससाना ठेकी, रक्सी राखिने कप, कप, कचौरा, थालदेखि करुवासम्मका सामग्रीहरु निर्माण हुने गर्दछन् । ३७ वर्षीय राजेन्द्र विकले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता मात्र दिनु भएको छैन, व्यावसायिक रुपमा दारका सामग्री बनाई राम्रो आम्दानी पनि गर्नुभएको छ ।

जङ्गलमा प्रशस्त पाइने दारको काठबाट बनाइने ठेकी किन्न पहिलेदेखि मानिसहरु दोर्दी पुग्ने गर्दथे । हातले काटेर बनाइएका ठेकी लिएर गाउँघरमा बेच्दै आउनेहरुले शुरुको समयमा अन्नसँग साटेर र पछि नगदमा बिक्री गर्दथे । परम्परागत रुपमा निर्माण गरिंदै आएको घरासयी प्रयोजनमा आउने दारका विभिन्न सामग्रीहरुलाई उहाँले सायानुकूल परिमार्जन गर्दै लैजानु भएको छ । प्रविधिसँगै सामानहरुका आकार प्रकार र बनोट पनि परिस्कृत बन्दै गएका छन् । सानो आकारमा उत्पादन गरिएका ठेकी, रक्सी पिउने कप र करुवा बनाउन राजेन्द्र विकलाई विद्युत्बाट चल्ने मेशिनले सजिलो बनाएको उहाँले बताउनुभयो ।

राजेन्द्रका बाबुले ठेकी बनाउँदा छालाको प्रयोग गरी दुईजनाले चलाउने घुर्रा हुन्थ्यो, यसैलाई दुईतिरबाट तानेर घुम्दै गरेको तिखो औजारबाट काठलाई छेडेर ठेकी तयार हुन्थ्यो । उहाँका दाजुले त्यसलाई अलि परिमार्जन गरी पानीको धाराबाट मदानी घुमाएर काम गर्न थाले । राजेन्द्रले दाजुको पछिपछि लागेर ठेकी बनाउन सिक्नु भएको थियो ।

सुरु्आती समयमा पुख्र्यौली पेसा अँगालेका विकले ठेकी उत्पादन गरेर गाउँगाउँसम्म पुर्‍याएको उहाँ स्मरण गर्नुहुन्छ । ठेकी बेचेर मात्र आफ्नो परिवार पाल्न कठिन भएपछि राजेन्द्र यसैमा अडिन सक्नु भएन । परिवार पाल्नकै लागि विदेश हानिनुभयो तर विदेशमा कमाई चित्तबुझ्दो भएन ।

विदेशमा बस्दा उहाँले काठबाट विभिन्न किसिमका सामग्री बनाएको भिडियोहरु देखेपछि आफ्नो पुख्र्यौली पेसालाई परिमार्जन गरी व्यावसायिक रुपमा उत्पादन गर्न सकिएमा विदेशभन्दा घरमै राम्रो आम्दानी गर्न सकिने सोच आयो । झण्डै १० वर्षको विदेश बसाईपछि उहाँले घरमै आएर दारका आधुनिक सामग्री बनाउने उद्योग स्थापना गर्नुभयो ।

सुरुआती दिनमा दारबाट बनाएका सामान बेच्दै गर्जो टार्ने गरे पनि विस्तारै उहाँका सामग्रीको माग बढन थालेको छ । उहाँ भन्नुहुन्छ, “अहिले यसरी घरघरमा पुगेर बेच्नु पर्ने अवस्था छैन । आफ्नो घरमै आएर किनेर लैजान्छन् ।” जिल्ला बाहिरसमेत दारको सामग्री चिनाउन सकेमा आफ्नो व्यवसायले ठूलै फड्को मार्ने विश्वास राजेन्द्रलाई छ । दोर्दीको वनमा पाइने दारलाई सदुपयोग गर्दे सामान बनाउने हो भने मासिक चार/पाँच लाखसम्मको सामान उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।

दारको काठबाट निर्माण भएका सामग्रीलाई उपहारको रुपमा दिने क्रम बढेसँगै उहाँलाई विभिन्न सामग्रीहरुको माग पूरा गर्न भ्याइनभ्याइ भएको हो । शुरुमा दोर्दी गाउँपालिकाले घरेलु सामग्री प्रबद्र्धनको लागि आफ्नै पालिकामा उत्पादन भएका सामग्रीलाई उपहार र मायाँको चिनोको रुपमा प्रयोग गर्न थालेपछि यहाँका दारबाट बनेका सामानहरु विस्तारै प्रख्यात हुन थालेका छन् । पालिकाको चिनारी समेत हुने भएपछि गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी आफू जहाँ पुग्यो, तिनै सामान उपहारको लागि लिएर जाने गर्नुहुन्छ । केही समयअघि आफू चीन भ्रमणमा जाँदा समेत यिनै सामग्री लिएर गएको बताउँदै अध्यक्ष अधिकारीले भन्नुभयो, “त्यहाँ नेपाली उत्पादनलाई धेरैले निकै मन पराए ।”

गाउँपालिकामा पनि सबैजसो टेबलमा दारबाट बनेका सामग्री राखिएको छ । त्यहाँ पुग्ने जो कोहीले त्यसबारेमा सोधखोज गर्दछन् । एकाध व्यक्तिबाहेक सबैले खोज्दै आएर वा फोन सम्पर्क गरेर सामग्री मगाउने राजेन्द्र बताउनुहुन्छ । सामान खोज्दै ग्राहक आफ्नै दैलोमा आईपुग्दा राजेन्द्र हौसिने गर्नुहुन्छ । दारको काठको बारेमा धेरैलाई जानकारी नहुँदा भने व्यवसायमा समस्या रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “दारबाट सामान बनाउनको लागि मेहनत र लागत बढी पर्दछ, सोही अनुसार जिल्लाको बजार पुग्दैन, बाहिरी जिल्लामा लैजाँदा मानिसहरुले सामान चिन्न सक्दैनन्, अन्य काठबाट बनेका उस्तै सामान सस्तोमा पाइन्छ, तर सस्तोमा दिन सकिँदैन ।”रासस