• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

संसदीय समितिमा मन्त्री गुरुङको आक्रोश: बिना कारण ममाथि नैतिकताको प्रश्न उठाइयो



काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सांसदहरुसँग आक्रोश व्यक्त गर्नुभएको छ ।

आईतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरुको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले सो टिप्पणी गर्नुभएको हो । बैठकमा समितिका सदस्यहरुले सो विधेयक अपराधीहरुलाई प्रश्रय दिने प्रावधानसहित सरकारले सुटुक्क ल्याएको जिकिर गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री गुरुङले विनाकारण आफ्नो नैतिकता र नियतमाथि प्रश्न उठाउने काम नगर्न पनि सांसदहरुलाई चेतावनी दिनुभयो ।

उहाँले पटक पटक छलफल गरेर सो विधेयक संसद र संसदीय समितिमा आउँदा पनि आफूमाथि गलत नियतका साथ किन प्रश्तुत भएको भनि सांसदहरुलाई प्रतिप्रश्न समेत गर्नुभयो । मन्त्री गुरुङले आफूहरुले सांसदहरुको कार्यक्षमतामाथि प्रश्न नगर्ने भन्दै घुमाउरो भाषामा शब्दकोश अध्ययन गर्न पनि सचेत गराउनु भयो । मन्त्री गुरुङले एकले अर्काको नियतमाथि प्रश्न उठाउँदै जाने कामले केही पनि उपलब्धि नहुने पनि बताउनु भयो । त्यसक्रममा मन्त्री गुरुङले आफू मन्त्री भएपनि निष्ठामा कहिल्यै पनि नडगमगाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा कुरामा मेरो गम्भिर प्रश्न पनि छ । यो विधेयक सुटुक्कसँग पास गर्न ल्याएको । अनि यहाँ बीचमा छिराएको आदिइत्यादि ढंगबाट आएको छ । माननीय सदस्यहरुज्युहरुलाई म अत्यन्तै सम्मान व्यक्त गर्दै म भन्न चाहन्छु–माननीय सदस्यहरुज्युको कार्य क्षमतामाथि म प्रश्न उठाउन चाहन्न । माननीय सदस्य त्यसै भएको होइन । जनताले निर्वाचित गरेर पठाइसकेपछि माननीय सदस्यहरुको कार्यक्षमतामा कसैले पनि प्रश्न उठाउन हुँदैन । मलाई त्यो पनि ज्ञान छ । त्यसैले त्यो ज्ञानलाई नोटिसमा राख्दै निवेदन गर्न चाहन्छु कि यो सुटुक्क पास गर्न खोजिएको रहेछ । कति गम्भिर यो कुरा । कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ सभामुख महोदय ? नैतिक आचरण गलत गरेको भए नैतिकको प्रश्न उठाउनु । तर विनासितीमा कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ ? कसैले नियतमाथि प्रश्न उठाउन पाईन्छ र सभापति महोदय ? एकदम नियत खराव राखेर ल्याउने ।’

‘माननीय सदस्यहरुलाई पनि म प्रश्न गर्न चाहन्छु–यसरी किन बोल्नु हुन्छ ? आफ्नो कुरा राख्न नजानेको, शब्द नपाएको हो भने नेपाली शब्दकोश भण्डारमा मा थुप्रै शब्दहरु छन सभापति महोदय । अनि छिराएको । के भनेको त्यो ? खुसुक्क छिराएछ । सारा पिजनहोलमा राखेर, पढनोस भनेर । सैद्धान्तिक छलफल गरेर दफादफा छलफल गरिरहेका छौ । तैपनि सुटुक्क छिराएको भन्ने ? जस्केलबाट छिराएको छ । हुँदाहुँदा झ्यालबाट छिराएछ । बडो गजव छ बा । यत्रो छलफलको यात्रा पार गरेर हामी यहाँ आइपुग्यौं । त्यसैले मैले शुरुमै भने–माननीय सदस्यज्युहरुको कार्य क्षमतामा म प्रश्न गर्न चाहन्न । तर यी भनाइहरुले, जुन भनाइहरु आए माननीय सदस्यज्युहरुबाट । माननीय सदस्यज्युहरुलाई मसम्मानका साथ भन्न चाहन्छु–सुटुक्क पास गर्न लाग्यो, नियतै खराब राखेर लिएर आयो, सुटुक्क छिरायो, झ्यालबाट छिरायो । जस्केलाबाट छिरायो । के हो यो सभापति महोदय ? कुरो गम्भिर छैन र ? एकले अर्काको नियतमाथि प्रश्न उठाउँदै जाने हो र । ड्राफ्ट कसरी गरिस ? पुरानो बोरामा बाँधेर राखेको रहेछ । थपक्क ल्याएर खोलिदिएको । अघि नै माननीय सदस्यले भन्नु भयो नि–तत्कालिन अवस्थामा विप्लव समूह थियो । त्यसको समस्या सम्बोधन गर्नका लागि पनि र तराई मधेसमा सिके राउतको विखण्डनको नारा बोकेर हिँडेको पार्टी थियो । तत्कालीन अवस्थामा यो ड्राफ्ट ठिकै पनि मानिन्थ्यो होला । तर अब यो काम लागेन भनेर अघि भर्खरै शुरुमै यो पनि बोलेर जानुभएको छ माननीय सदस्यले ।’

‘यति कुरा सुनिसकेपछि त्यसपछि फेरि उही प्रश्न दोहोरिएको छ । त्यसकारणले गर्दाखेरी वास्तवमा यो हामी यो राजनीतिमा यत्तिकै आईहालेको हो कि ? फ्वात्त आकाशबाटै खसेर मन्त्री भइहालेको हो कि ? त्यो ढंगले सोच्न हुन्न । हामीले पनि जनताकै लागि, देशको लागि भनेर कलिलो उमेरबाट रगत बगाउँदै आएका छौ नि । हामीलाई राजनीतिमा लागेर कमाउनु छैन । म प्रष्ट भन्न चाहन्छु । म यो कुरा निवेदन गर्न चाहन्छु । कमाउने धन्दामा को–को लाग्छन मलाई थाहा छैन । लागि रहन्छन् होला । पत्रपत्रिकामा पढिरहन पाईन्छ पनि होला । त्यसतर्फ म धेरै कुरा भन्न चाहन्न । तर म अहिले यो कानूनमन्त्रीको कार्यभार सम्हालेर बसिरहेका बेलासम्म आइपुग्दाखेरी पटक पटक कष्टडीमा पनि परेको हुँ, जेल पनि परेको हुँ । कुखुरा चोरेर परेको होइन । राजनीतिक व्यवस्था परिवर्तन गर्नका लागि नै भनेर प्रजातन्त्र स्थापना गर्नका लागि नै भनेर, देश र जनताकै लागि भनेर मैले रगत पनि बगाए । कष्टडीमा पनि परेँ, जेल पनि परेँ । यतित मैले राख्नै पर्‍यो ।’

‘किनभने मेरो नियतमाथि प्रश्न गरेपछि । मन्त्रीको नियतमाथि प्रश्न गर्ने ? नैतिकतामाथि प्रश्न उठाउने । मैले आज मेरो शरिरबाट रगतको मूल्य खोजिरहेको छैन । देश र जनताको लागि भनेर हिजो पनि जुन अडान थिए, आज पनि त्यही अडान छु । केही माननीय सदस्यहरुले भन्नुभयो–हिजो तपाईको ट्वीट पनि हेरेको हो, स्टाटस पनि पढेको हो । अलि फरक देखियो नि । अहँ तपाईको हेर्ने नजरमा मात्रै फरक पर्न आएको हो । धनराज गुरुङमा कुनै परिवर्तन आएको छैन । म यो पनि निवेदन गर्न चाहन्छु । मन्त्री पद त आउँछ, जान्छ नि । तर मेरो जुन लगाव छ । जुन पदचाप छ । जुन उद्देश्य छ, ध्येय छ । लक्ष्य छ । त्यो भनेको नेपाललाई सुशासन स्थापना गर्दै नेपालका विपन्न जनतालाई सम्पन्न बनाउने लक्ष्य हो मेरो । मेरो यो लक्ष्यबाट म अविचलित ढंगले अघि बढछु, बढिरहन्छु ।’

मन्त्री गुरुङले आफूले मुलुकमा सुशासन स्थापना गर्दै नागरिकलाई सम्पन्न बनाउने लक्ष्य लिएको र त्यसैमा अविचलित भएर अघि बढने पनि बताउनु भयो ।