१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गोर्खा वारियर’: मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा



अ+ अ-

काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । तर, पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पार्नुभएको छ ।

आगामी फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । नेपालमा प्रदर्शन गर्नु अगाडि नै बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी ९प्रिमियर० गरेर अन्तर्राष्ट्रियरुपमा समेत चर्चामा रहेको चलचित्रलाई निर्माण गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताउनुभयो ।

“मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु । सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन । यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु । तयारी त एकदशक अगाडिदेखि कै हो”, निर्देशक चाम्सले भन्नुभयो, “हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरेका छौँ । यो चलचित्रले हाम्रो वीरतालाई देखाउनुका साथै विश्वमा नेपाली चलचित्रको महत्वलाई दर्शाउने छ ।”

चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट हुनु सम्पूर्ण नेपाली चलचित्रकर्मीका लागि गौरवको विषय रहेको निर्देशक चाम्सले बताउनुभयो । “गोर्खालीको विषयमा चलचित्र बनेको भन्ने थाहा पाएपछि हामीले पाएको सम्मान र तारिफलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।

अब नेपाली चलचित्रकर्मीले वीरता र इतिहासको कथालाई पर्दामा ल्याउन ढिलाइ गर्न नहुनेमा निर्देशक चाम्सले जोड दिनुभयो । यसमा मुख्य भूमिका निर्वाह गर्नुभएका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुनुहुन्छ । उहाँले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षासमेत लिनुभयो ।

“मैले युद्धको क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । चलचित्र हेर्नुभएका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु । पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ”, अभिनेता चाम्सले भन्नुभयो । चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।