१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरमा खेलाउने इच्छा छ: प्रमुख दाहाल



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताउनुभएको छ ।

शुक्रबार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवि स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गर्नुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।

प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्यका लागि माघ महिनाभित्रै ठेक्का आह्वान हुने स्पष्ट पार्नुभयो । यसका लागि वागतमी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले केही दिनमा बजेट विनियोजन गर्ने पनि उल्लेख गर्नुभयो ।
वागतमी प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रु १ अर्ब लगानीमा बाँकी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको छ ।

यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित नेपालका ३ रंगशालाले राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेको छ ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेलकुद क्षेत्रमा ठुलो लगानी गरेकाले खेल विधामा नेपालको ७५३ पालिका मध्ये प्रथम स्थान हासिल गरी पुरस्कृत भएको स्मरण गराउनुभयो ।

यही गरिमालाई उच्चो पार्न भरतपुरमा दैनिक रुपमा खेल गतिविधिहरु हुने गरेको प्रमुख दाहालको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एक वर्षभित्र गौतम बुद्ध क्रिकेट रंगशालाका दुई वटै मैदानमा खेल खेल्न मिल्ने गरी काम हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

अध्यक्ष चन्दले अलपत्र रहेको रंगशालाको बाँकी निर्माण कार्यका लागि भरतपुर महानगर प्रमुख दाहालले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा मैयाँदेवि ट्रष्टका महासचिव टंकनाथ पौडेल, कार्यक्रम संयोजक बचन कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच शुक्रबार भएको उद्घाटन खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । सुदुरपश्चिमले दिएको ५८ रनको झिनो लक्ष्य गण्डकीले १० ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । गण्डकीको जितमा सीमाना केशीले नटआउट २० रन बनाईन् । ३४ बल खेलेकी सीमानाले २ चौका प्रहार गरिन् । सुदुरपश्चिमकी अनु कडायत र जानका थापाले १–१ विकेट लिए ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको सुदुरपश्चिम १६ ओभर १ बलमा ५७ रनमा समेटियो । उसका लागि सावित्री धामीले १२ बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्न गण्डकीकी निरुता जिटी एक्लैले ४ विकेट लिईन् । ४ ओभर बलिङ गरेकी निरुताले एक मेडन राख्दै ४ रन मात्र खर्चिन् । ज्योत्सनिका मरासिनीले २ तथा आकृति तिवारी र सीमाना केसीले १–१ विकेट हात पारे । ४ विकेट लिएकी निरुता प्लेयर अफ दि म्याच बनिन् ।