• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको पुर्ख्यौली परम्परा



????????????????????????????????????

म्याग्दी (बेनी) : उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ ।

पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आउनुभएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गर्नुभयो । लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात् पुर्पुरो भने उहाँहरुले पुख्र्यौली गाउँमा गर्नुभएको हो ।

छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुख्र्यौली परम्परा र संस्कृति रहेको छ । यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुख्र्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन रहेको छ ।

लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुख्र्यौली गाउँठाउँमा आएर नै जेठो छोरा लिएनको पुर्पुरो गरेको उहाँका ठूलोबुबा कृष्ण छन्त्यालले बताउनुभयो । “हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, हुर्कियाँै, आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ”, उहाँले भन्नुभयो । पुर्पुरोका अवसरमा पुख्र्यौली समूहले नाचगान गर्ने र स्थानीय आमासमूह र युवाक्लबले स्वागत र सम्मान गर्ने चलन रहेको छ ।

पुर्पुरोका समयमा पुख्र्यौली समूहमार्फत स्थानीय सामाजिक गतिविधिमा उपयोग गर्नेगरी घरपरिवारले आर्थिक सहयोग प्रदान गर्ने भएकाले गाउँकै सामाजिक सेवामा सहयोग पुगोस् भनेर आफूहरु गाउँ फर्किएर संस्कारजन्य कार्य गर्ने गरेको गरेको छन्त्याल परिवारको भनाइ छ । लिएनको पुर्पुरोमा घरपरिवारबाट र अन्य आफन्तबाट रु दुई लाख चार हजार पाँच सय सहयोग जुटेको धवलागिरि गाउँपालिका–५ का वडा सदस्य र स्थानीय महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त छन्त्यालले जानकारी दिनुभयो ।

उहाँले उक्त सहयोग रकमलाई विद्यालयको निजी स्रोतका शिक्षकको तलब सुविधामा खर्च हुने जानकारी दिनुभयो । विकट बस्ती भएकाले अवसर, रोजगार र सुविधाका लागि हरेक वर्ष गाउँ छाडेर अन्यत्र जानेक्रम बढेपछि संस्कारजन्य कार्यमा भने पुख्र्यौली थलोमै फर्कने परम्परा बनेको छ । मलम्पारका अधिकांश घरबाट वैदेशिक रोजगारमा गएका छन् भने धेरैले गाउँदेखि सहरतर्फ बसाइँ  सार्न थालेका छन् ।

दुर्गम गाउँका रुपमा चिनिएको मलम्पारबाट रोजगार, व्यापार व्यवसाय र अन्य कारणले गाउँ छाडेका आफ्नो परिवारको पुर्पुरो, छेवर, विवाहलगायत संस्कार र परम्पराजन्य कार्यका लागि भने गाउँ फर्कने गरेको वडा सदस्य छन्त्यालले बताउनुभयो । यस गाउँबाट बेनी, पोखरा, काठमाडौँ, बुटवललगायतका सहरी क्षेत्रमा बसाइँसराइ गरेका संस्कारजन्य कार्यका लागि गाउँ फर्कने भएकाले गाउँको विद्यालय सञ्चालन र सामाजिक कार्यमा राहत हुने गरेको छ ।

यहाँका हरेक व्यक्तिले आफ्नो मनोकाङ्क्षाका लागि मालिकालगायत शक्तिपिठको भाकल गर्ने भएकाले पनि विश्वका जुनसुकै ठाउँमा पुगेका पनि गाउँ सम्झिएर फर्कने गरेको स्थानीय  विष्णुमाया घरब्जा बताउनुहुन्छ । पुर्पुरोको दिनमा पुख्र्यौली समूहले गीत र नाचबाटै आशिष दिने भएकाले यस दिन देखाउने पुख्र्यौलीलाई पुर्पुरो गर्ने भन्ने चलनसमेत रहेको छ । दिनभर सारेठी भाकामा नाच देखाउने पुर्ख्यौली समूहले घरपरिवारको सम्मान र दानपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फूलपाती दिएर आशिष दिने चलन दिने गरिन्छ । रासस