काठमाडौं । बिहीबार महाशिवरात्रीको सार्वजनिक विदा परेकाले बुधबार नै यो साताको अन्तिम कारोबार दिन रहेको छ । बुधबार नेप्से परिसूचक ३.४० अंकले घटेर २ हजार ४ सय ५८.४८ विन्दुमा पुगेर बजार बन्द भएको छ । यस दिन शेयर बजार ०.१४ प्रतिशतले घटेको हो ।
यस दिन २ हजार ४ सय ७६.९३ विन्दुदेखि खुला भएको बजार २ हजार ४ सय ७७.७१ विन्दुसम्म पुगेको थियो भने २ हजार ४ सय ४६.३४ विन्दुसम्म झरेको थियो । यता सेन्सेटिभ इन्डेक्स भने ०.०२ अंकले बढेर ४ सय ४५.२३ विन्दुमा पुगेर बन्द भएको छ । आजको बजारमा सामान्य करेक्सन भएर ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले बढेको हो ।
यस दिनको कुल कारोबार रू. ४ अर्ब १० करोड ४ लाख ६ हजार ३ सय ३७ रहेको छ । यस दिन २०५ वटा कम्पनीको ४६ हजार ९ सय ४८ पटकको व्यापारमा उक्त रकम बराबरको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर कारोबार भएको हो । पूँजीबजारको उतारचढाबलाई राजनीतिक, आर्थिक र नीतिगत कारणले प्रभावित पार्ने विश्लेषण विश्लेषकहरुको छ ।
यो दिन नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको उक्त कम्पनीको उक्त लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधबार भएकाले पनि सर्वाधिक कारोबार भएको देखिन्छ । यो दिन कम्पनीको शेयरमूल्य पनि २.७८ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. ३५ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार २९५ कायम भएको छ ।
बुधबार सामान्य अंकले घटेको बजारमा चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यो दिन चन्द्रागिरी हिल्सको सर्वाधिक ९.९९ प्रतिशत बढेर रू. ८०४ र घलेम्दी हाइड्रो लिमिटेडको ९.९२ प्रतिशत बढेर रू. १४४ पुगेको छ । त्यस्तै नेपाल हाइड्रो डेभलोपरको ९.५५ प्रतिशत बढेर अन्तिम मूल्य रू. ३९० पुगेको छ ।
यस दिन चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. ७३, घलेम्दी हाइड्रोको प्रतिकित्ता रू. १३ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. ३४ ले मूल्य बढेको हो । यस दिन रैराङ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.६० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १६ ले घटेर अन्तिम मूल्य रू. ३३२ कायम भएको हो ।
बुधबार कारोबारमा आएको १३ वटा समूहगत परिसूचकमध्ये व्यापारिक समूहको परिसूचक सर्वाधिक ८.१५ प्रतिशत बढेको छ । यो दिन होटल्स तथा पर्यटन समूहको २.२ प्रतिशत, जलविद्युतको ०.२ प्रतिशत, वित्तको ०.४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.८३ प्रतिशत, अन्यको १.९६ प्रतिशत र लगानी समूहको ०.०३ प्रतिशत बढेको छ ।
यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ् समूहको ०.६१ प्रतिशत विकास बैंकको ०.४३ प्रतिशत, लघुवित्तको ०.९४ प्रतिशत, जीवन बीमाको ०.७८ प्रतिशत र म्युचुअल फण्डको ०.२४ प्रतिशतले परिसूचक घटेको छ ।