• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

आजदेखि सहिद सप्ताहका कार्यक्रम सुरु



काठमाडौँ । सहिद सप्ताहका कार्यक्रम सुरु भएको छ ।

नागरिक स्वतन्त्रताका लागि राजनीतिक संघर्षका क्रममा वि। सं। १९९७ सालमा पक्राउ परेका ४ सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दसहित विभिन्न समयका राजनीति आन्दोलनमा सहादत प्राप्त गर्ने योद्धाहरुको स्मरण तथा सम्मानमा सहिद सप्ताहका कार्यक्रम मनाउने गरिएको छ ।

शासकसामु माफी मागेर झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गरेका सहिदहरुको स्मृतिमा वि। सं। २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित मूल समारोह समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस बर्ष काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)  को अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रमुख सुनिता डंगोल, वडा नं. १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नं. ७ का अध्यक्ष बिमलकुमार होडा, वडा नं. १५ का अध्यक्ष एवं वित्त समितिका संयोजक ईश्वरमान डंगोल र वडा नं. २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारी सदस्य रहनु भएको छ ।

सप्ताहको पहिलो दिन अर्थात् माघ १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा हुनेछ । यी स्थानहरुमा महानगरपालिकाले सहिदहरुको पूर्ण कदको सालिक निर्माण गरेको छ । यस्तै माघ १६ गते शान्तिबाटिकाबाट प्रभातफेरी सुरु गरेर लैनचौर सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरुको स्मृतिमा सभा हुनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउन थालिएको हो । जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्डाएर प्राणदण्ड दिइएको थियो । माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो ।

ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।’ त्यस बर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो ।

त्यसपछि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्तिहरुले सहादत प्राप्त गर्नुभएको छ । उहाँहरुको सबैको योगदानलाई सप्ताहका कार्यक्रममा सम्झना गर्ने तथा कदर स्वरुप स्मृति सभा गर्ने गरिएको हो ।