७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष अदालतले गच्छदारको घरमै टाँस्यो म्याद



अ+ अ-

काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको निवासमा म्याद तामेल गरेको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार सम्पर्क नआएपछि मोरङस्थित उनको निवासमा म्याद तामेल गरेको हो । 

विशेष अदालतले गच्छदारलाई गत फागुन २३ गते ललिता निवास जग्गा अनियमितताको मुद्दामा सुनुवाइ गर्दै १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको थियो । गच्छदार अदालतको सम्पर्कमा नआएपछि अदालतले उनको निवासमा म्याद तामेल गरेको प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

तत्कालि भौतिक योजना तथा निर्माण मन्त्री गच्छदार ललिता निवासको १२३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा सारिएको प्रकरणमा मुछिएका थिए । भ्रष्टाचार  कान्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बनमा छ भने उनी केही समययता पार्टी कार्यक्रममा पनि देखिएका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध  ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दाबी गरेको छ । 

उक्त मुद्दामा पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा भइसकेका छन् । पूर्वमन्त्री छविराजसँग अदालतले ५ लाख धरौटी माग गरेको थियो । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा पठाइएका छन् । मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर छुटेका छन् । अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा १७५ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।