१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐसेलुखर्कको राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना



अ+ अ-

खोटाङ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । भौगोलिकरुपमा विकट तथा सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र मानिने राखाबाङ्देलमा स्थापना गरिएको अस्थायी प्रहरीचौकीको बुधबार औपचारिकरुपमा उद्घाटन गरिएको हो ।

राखाबाङ्देल स्थानीय बासिन्दाको बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिकोणले अति नै संवेदनशील भएकाले तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो । ‘समुदायसँग प्रहरी’ भन्ने नेपाल सरकारको नीतिअनुसार राखाबाङ्देलका स्थानीय बासिन्दाको शान्ति-सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जनाइएको छ । 

राखाबाङ्देलमा स्थापना गरिएको प्रहरीचौकीका लागि स्थानीय बासिन्दा एवं समाजसेवी महादेव गिरीले निःशुल्क घर उपलब्ध गराउनुभएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजना प्रहरी रहने गरी स्थापना गरिएको अस्थायी प्रहरीचौकी प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख फणीन्द्र दाहाल र गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने राखाबाङ्देलमा स्थानीय बासिन्दाले लामो समयदेखि प्रहरीचौकी स्थापनाको माग गर्दै आएका थिए । राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना भएपछि शान्ति-सुरक्षामा केही सहज हुने स्थानीय बासिन्दाको अपेक्षा छ ।