४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग



अ+ अ-

म्याग्दी । मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उहाँका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गर्नुभएको छ ।

च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उहाँका छोराहरुले मङ्गलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गर्नुभएको हो । घनमायाले आफ्नो नामबाट रु एक लाख, दिवङ्गत श्रीमान् टेकबहादुर पुनको नाममा रु एक लाख र स्व छोरी चित्रा घर्तिको स्मृतिमा रु पचास हजार नगद हस्तान्तरण गर्नुभएको प्रअ ललितबहादुर घर्तिमगरले बताउनुभयो ।

घनमायाका छोरा टार्जन र दुर्गा एवं छोरी रुपी पुनले थप रु पचास/पचास हजार नगद उपलब्ध गराउनुभयो । घनमाया, उहाँका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

घनमायाका जेठा छोरा/बुहारी दलमान र माया पुनले गत वर्ष रु पचास हजार सहयोग गर्नुभएको थियो । उहाँका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई रु दश हजार सहयोग गर्नुभएको थियो । सो रकम विद्यालयमा सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने प्रअ घर्तीले बताउनुभयो ।

चौरासी वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिनुभएको वडाअध्यक्ष पुनले बताउनुभयो । सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजनसमेत गराउनुभएको थियो ।

विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समुह, क्लबलगायत सङ्घसंस्थाहरुले घनमाया र उहाँका परिवारलाई सम्मान गरेका थिए । विसं २०५५ मा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरुलाई तलब र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तिमगरले बताउनुभयो । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा एक सय २७ विद्यार्थी छन् ।

अक्षयकोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म रु २४ लाख १४ हजार छ सय ४३ सङ्कलन भएको छ । सोही अवसरमा गत वर्षको एसइई परीक्षामा विद्यालयबाट सहभागी भई सो गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ । रासस