काठमाडौं । नेकपा एमालेका वरिष्ट नेता माधव कुमार नेपालले केपी ओली समक्ष धुँडा टेक्ने, आत्मसमर्पण गर्ने, टाङ्गमुनि नछिर्ने बताउनु भएको छ । आफू निकट विद्यार्थी संगठनको कार्यक्रममा नेता नेपालले भन्नुभयो, कथित स्पष्टीकरणबाट तर्सिएका छैनौं ।
अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रति निकै आक्रामक रुपमा प्रस्तुत हुनु भएका नेता नेपालले भन्नुभयो, मैदानबाट भाग्दैनौं, पार्टी फुटाउँदैनौं । केपी ओलीको चुरीफुरी दुई दिनको भएको भन्दै नेता नेपालले भन्नुभयो, प्रधानमन्त्री पदबाट खुस्केको दिन उहाँको हावा खुस्किन्छ ।
आफू निकट व्यक्तिहरुले आफ्नो साथ छाडेको भन्दै नेता नेपालले बाधाहरुलाई पन्छाउँदै नदीहरु अघि बढेझैं आफूहरु पनि अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले राजवादीहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै नेता नेपालले त्यो सफल हुन नदिने दाबी गर्नुभयो ।
उहाँले प्रधानमन्त्री ओलीलाई नेपाली हिटलरको उपमा दिँदै भन्नुभयो, "पार्टीका सबै अधिकार आफूमा केन्द्रित गरेर ओली हिटलर बन्ने प्रयासमा छन्" ।











