५ श्रावण २०८३, मंगलवार
,
Latest
राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगर सम्याएर खेलमैदान



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो ।

कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले रू आठ लाख पचास हजार खर्च गरेर खेलमैदान तयार पारिएको जानकारी दिनुभयो । “पोखरेबगरवासीको भेलाको निर्णय अनुसार कालीगण्डकी किनारको उपभोगविहीन सार्वजनिक जमिनमा करिब २० दिनमा खेलमैदान तयार पारेका छौँ,” उहाँले भन्नुभयो, “योसँगै खेलकुद प्रतियोगिता सञ्चालन गर्न र खेलाडीलाई अभ्यास गर्न सहज भएको छ ।”

एक सय १२ मिटर लम्बाइ र ४० मिटर चौडाइ भएको खेलमैदानमा सेभेन ‘ए’ साइड फुटबल, भलिबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स खेल सञ्चालन गर्न सकिने अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार डोजर लगाएर सम्याइएको खेलमैदानको सतहमा माटो राखिएको छ भने स्टेजका लागि पर्खाल निर्माण गरिएको छ ।

उक्त खेलमैदानमा पुस ७ गतेदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार सकिएको छ । खेलमैदान नहुँदा यसअघि पोखरेबगर आधारभूत विद्यालय परिसरमा खेलकुद प्रतियोगिता तथा अभ्यास हुने गरेको थियो । खेलकुद गतिविधिका कारण विद्यालयको पठनपाठनमा असर पुगेको थियो ।

पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र हो । तीव्र रुपमा बस्ती विस्तार भएको पोखरेबगरको अन्य ठाउँमा सार्वजनिक जग्गा नहुँदा खेलमैदान निर्माण हुनसकेको थिएन् । खेलमैदान निर्माण भएको बगरको कालीगण्डकी किनारमा यसअघि ग्याबिन पर्खाल बनाएर तटबन्ध गरिएको थियो । खेलमैदानको छेउमा निर्माणाधीन सार्वजनिक शौचालयलाई पनि पूर्णता दिइएको अध्यक्ष खड्काले बताउनुभयो ।

खेलमैदान बनेपछि सार्वजनिक जग्गाको संरक्षण भएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले युवा क्लबको नेतृत्वमा मेलाबाट बचत भएको रकम परिचालन गरेर छोटो समयमा खेलमैदान तयार गरेर उदाहरणीय काम गरेको बताउनुभयो । खेलमैदानलाई थप व्यवस्थित गर्दै पूर्वाधार विस्तार गर्न गाउँपालिकाले सघाउने उहाँको भनाइ थियो । रासस