२५ श्रावण २०८३, सोमबार
,
Latest
आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपीडितका ११ हजार घर निर्माण



अ+ अ-

काठमाडौँ । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् ।

अहिले धमाधन अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटमा पाँच हजार दुई सय दुई, रुकुमपश्चिममा पाँच हजार सात सय ९८, सल्यानमा एक सय ९३, बझाङमा १३ र बाजुरामा एक सय ३० घर निर्माण सम्पन्न भइसकेका छन् ।

पोखरेलले आजसम्म केन्द्रबाट अस्थायी आवासका लागि रू दुई अर्ब २६ करोड रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिनुभयो । त्यसमध्ये रू एक अर्ब ५३ करोड जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ । स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने रू ५८ करोड ७८ लाख रकम पठाइसकिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म जाजरकोटमा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार छ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ गरी कुल ६७ हजार सात सय ८३ लाभग्राही कायम भएका छन् ।

अझै झण्डै ५० हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताउनुभयो । उहाँका अनुसार सुरुमा अस्थायी आवासका लागि सेवा लिने लाभग्राहीको सङ्ख्या गति कम भए पनि अहिले भने बढिरहेको छ ।

लाभग्राहीको पहिचान हुँदै गएकाले सङ्ख्या थपिँने क्रम बढेको भन्दै लाभग्राहीको सङ्ख्या ८० हजार पुग्ने अनुमान गरी सोहीअनुसार तयारी भइरहेको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार ८० हजार लाभग्राही हुँदा उनीहरूको अस्थायी आवासका लागि रू चार अर्ब ७५ करोड लाग्ने भएकाले सोहीअनुसार बजेट व्यवस्थापनको तयारीमा प्राधिकरण लागेको छ । त्यसमध्ये रू दुई अर्ब २६ करोड रकम पठाइसकिए पनि बाँकी रकमको जोहो गर्नुपर्ने उहाँको भनाइ थियो ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ, बाजुरामा क्षति पुर्‍याएको थियो । रासस