११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

सांसद भनेका विकासकर्मी हुन् भन्ने भाष्य अन्त्य हुनुपर्छ: छिरिङल्हामु लामा

सांसद भनेका विकासकर्मी हुन् भन्ने भाष्य अन्त्य हुनुपर्छ: छिरिङल्हामु लामा
अ अ+ अ-

काठमाडौँ । छिरिङल्हामु लामा (तामाङ) भाग्यमानी सांसद हुनुहुन्छ जो मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल हुनुभएको छ । उहाँ मुगाली समुदायबाट उपल्लो निकायमा पुग्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) जुम्लाबाट समानुपातिक सांसदको रूपमा सङ्घीय संसद् प्रवेश गर्नुभएकी सांसद लामालाई आफ्नो एकवर्षे कार्यकाल त्यति चित्तबुझ्दो लागेको छैन । युवा नेत्री लामालाई पहिलो सङ्घीय संसद्को अभ्यास एउटा महत्त्वपूर्ण सिकाइ र भोगाइ हो उहाँका लागि । सिंहदरबार सोचेजस्तो सहज नभएको उहाँ ठान्नुहुन्छ । सांसद लामा भन्नुहुन्छ, “संसद्को एक वर्षको कार्यकालमा धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न पाइयो ।”

युवा वयमै सांसदको गहन जिम्मेवारी पाएकी नेत्री लामालाई तीव्र परिवर्तनका भोका जनताको विकास र आर्थिक समृद्धिको उत्कट चाहनाको हुटहुटी पूरा गर्ने सपना र योजना नभएको होइन तर सबै कुरा सोचेजस्तो, सम्झेजस्तो सहज छैन । सांसद लामाको एकवर्षे संसदीय यात्राको अनुभव र सङ्घर्षले पनि त्यही कुरा पुष्टि गर्छ ।

सङ्घीय सांसदको भूमिकामा सिंहदरबार धाउने र संसद्मा कुरा राख्ने सांसद लामाको दैनिकी बनेको छ । “जनताका माग र गुनासा लिएर सिंहदरबार धाउँदा जुत्ता फाटिसके”, उहाँ दुखेसो पोख्नुहुन्छ, “सांसदको लेटरप्याडमा मन्त्रीहरूलाई मागपत्र बुझाउँदा पनि बजेट आउँदो रहेनछ ।”

नेत्री लामाले भन्नुभयो, “सिंहदरबारमा हामीले गएर आफ्नो लेटरप्याडमा मन्त्रीलाई मागपत्र पेस गरेकै आधारमा मात्रै बजेट विनियोजन नहुँदोरहेछ । साथै कर्मचारीतन्त्रदेखि हरेक नेटवर्कको अध्ययन र परिचित नभएसम्म चुनौती खेप्नुपर्ने रहेछ, यो कुराको पनि अनुभव गर्न पाइयो ।”उहाँले एकवर्षे संसदीय अभ्यासमा धेरै कुरा सिकाइको चरणमा रहेकाले अहिलेको अनुभवले बाँकी अवधिमा परिणाममुखी काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

विसं २०७० देखि माओवादी केन्द्रमा आबद्ध छिरिङल्हामु लामाले पार्टीको जुम्ला जिल्ला सदस्य, अखिल नेपाल महिला सङ्गठन (क्रान्तिकारी)_, कर्णाली प्रदेश सदस्य, अनेम सङ्घ चन्दननाथ नगरपालिका इन्चार्जजस्ता जिम्मेवारी निर्वाह गर्नुभएको छ । हालको कर्णाली प्रदेशको जुम्ला चन्दननाथ–६ मा २०४८ असोज १३ गते जन्मनुभएकी उहाँ उमेरले युवा रहे पनि राजनीतिक यात्रासँगै सामाजिककार्य र सङ्घसंस्थामा संलग्न भई काम गरेको अनुभव छ । उहाँ आदिवासी जनजाति (पिछडिएको क्षेत्र मुगाली)बाट प्रतिनिधित्व गर्ने सांसद हुनुहुन्छ ।

“सङ्घीय संसद्मा मेरो एक वर्षको अनुभव चुनौतीपूर्ण नै रह्यो”, सांसद लामाले भन्नुभयो, “एक त पुराना सांसद र नयाँ सांसदमा अलिकति फरक हुने नै भयो । त्यसमाथि मचाहिँ जुन भेग र समुदायबाट प्रतिनिधित्व गर्छु, त्यो क्षेत्र र समुदायमा आजको दिनमा पनि नेपाली भाषा शुद्ध र स्पष्ट हुँदैन, त्यो भएर पनि मलाई अलिक अरु सांसदभन्दा चुनौतीपूर्ण लाग्यो ।”

नेत्री लामाको बुझाइमा सांसदको मुख्य दायित्व र जिम्मेवारी भनेको राज्यका कानुन, नीति निर्माण गर्ने हो । तर अहिले नेपालको संसदीय अभ्यासमा परम्परागत भाष्य कायमै छ । उहाँ भन्नुहुन्छ, “हाम्रो देशमा सांसद भनेको विकासकर्मी हो भन्ने छ । त्यसैले सांसदहरू मुख्य लक्ष्यमा केन्द्रित भएर काम गर्ने अवस्था नरहेकाले परिणाम राम्रो आउन सकिरहेको छैन ।”

उहाँको विचारमा जुन लक्ष्यमा सांसदको ध्यान केन्द्रित हुनुपर्ने हो ठीकविपरीत भएको छ । “तर सांसदले आफ्नो क्षेत्रका जनताको आवश्यकतानुरुप विकास निर्माणको काममा पनि सहभागी हुनुपर्ने भएकाले सरकार र जनताको पुलको रूपमा सांसदको भूमिका हुन्छ । दुवै कामलाई उत्तिकै प्राथमिकता दिनुपर्ने बाध्यता छ”, सांसद लामाको विचार छ ।

उहाँले सङ्घीय संसद्को एक वर्षको अवधिमा ९३ बैठकमध्ये ८४ वटा बैठकमा उपस्थित भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेशका सांसदमध्ये सबैभन्दा धेरै उपस्थित हुनेमा म छु यो खुसीको कुरा हो । यो पनि अनुशासनको राम्रो पक्ष हो ।”

सदनभित्र एक वर्षको अवधिमा सांसद लामाले १९ पटक कुरा उठाएको र त्यसमध्ये उक्त अवधिमा पाँचपटक विधेयकमाथि छलफल र बाँकी समग्र कर्णाली र जिल्लाका जनताको विषयमा कुरा उठाएको जानकारी दिनुभयो ।

“विगतका सांसदको तथ्याङ्क हेर्ने हो भने कर्णाली क्षेत्रका सांसदले असाध्यै कम बोलेको पाइन्छ । त्यस हिसाबले आफूले राम्रो गरेछु कि भन्ने गौरव अनुभूति भएको छ । तर सहज छैन । हामी सिंहदरबारभित्र प्रवेश गरेपछि नीति निर्माण र जनताको विकासको मुद्दा उठाउने दायित्व छँदैछ, सँगै विकासको मुद्दामा पनि सक्रिय हुनैपर्यो”, सांसद लामाले भन्नुभयो ।

उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो कामको प्रतिवेदन ‘पोष्ट’ गर्ने अभ्यास पनि गर्नुभएको छ । सदनमा २१ वटा मन्त्रालयसँग सम्बन्धित ६३ वटा कामको मागपत्र पेस गरेको र तीमध्ये धेरै काम भएको तथा केही काम प्रक्रियामै रहेका छन् । सदनको कामसँगै जिल्लामा पुगेर जनताको पीरमर्का र मागलाई सङ्घीय सरकारसमक्ष पेस गर्ने काम पनि सांसद लामाले गर्नुभएको छ । स्थानीय विकास योजना, जनताका आधारभूत आवश्यकतालगायतका बाँकी कामलाई चाँडो परिणाम दिनेगरी सक्रियताका साथ लागिपरेको उहाँले बताउनुभयो ।

जनतासँग साक्षात्कार गर्न जिल्लाका आठै पालिकामा पुगेर त्यहाँका जनताको पीरमर्का र योजना समेटेर केन्द्रमा ल्याएको र ती माग पूरा गर्न केन्द्र सरकारसँग पहलकदमी गरिरहेको उहाँले उल्लेख गर्नुभयो । सांसद लामाले अहिलेको व्यवस्था ल्याउन कर्णालीका जनता र कर्णाली प्रदेशको महत्त्वपूर्ण योगदान रहे पनि राज्यले कर्णालीको सही मूल्याङ्कन गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यको निकायमा कर्णालीको जुन मूल्याङ्कन हुनुपर्ने हो त्यो भएको छैन । हरेक तथ्यले त्यसलाई प्रमाणित गर्दछ । उदाहरणका लागि, नियुक्ति, बजेट र विकासलगायत हरेक हिसाबले कर्णालीलाई पछाडि पारिएको छ ।”

मानव संशाधन विकासमा हेर्ने हो भने मानव विकास सूचकमा कर्णाली क्षेत्र धेरै पछाडि छ । जनताका माग भनेको सडक, बाटो, रोजगारी, स्वास्थ्य नै प्रमुख छन् । कर्णालीमा जलविद्युत्को ठूलो सम्भावना छ । तर दैलेखमा एकमात्र सानो जलविद्युत् आयोजना छ । कर्णालीमा ठूला उद्योग पनि छैनन् । जडीबुटी उद्योग तथा कलकारखाना स्थापनाका प्रशस्तै सम्भावना पनि छन् । चीनसँग सीमा जोडिएका कर्णालीका पाँच नाका खोल्न विशेष पहलकदमी गरिरहेको सांसद लामाले बताउनुभयो । ती नाका खुलेमा कर्णाली क्षेत्रको विकासको ढोका खुल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सांसद लामाले वर्तमान सरकार सुशासन प्रवर्द्धन गरी जनसेवालाई प्रभावकारी तुल्याउन लागिपरेको दाबी गर्नुभयो । “सरकारले भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रयास गर्यो तर, गठबन्धन सरकारमा सबै दलको भावनाअनुरुप चल्नुपर्ने बाध्यता भएकाले चाहेअनुरुप परिणाम निकाल्न सकिएको छैन”, उहाँले भन्नुभयो, “एक वर्षको अवधिमा धेरै भ्रष्टाचारी जेलमा पुगेका छन्, यो सुशासनको उदाहरण हो । भ्रष्टाचार अन्त्य नभएसम्म सुशासन आउँदैन बेरोजगारी र गरिबी बढिरहन्छ । वडा तहदेखि केन्द्रसम्म भ्रष्टाचारले जरा गाडेको छ । यसलाई न्यूनीकरण गर्न सबै जिम्मेवारीपूर्वक लाग्न जरुरी छ ।”

विकास र जनताको मुद्दामा दलभन्दा माथि उठेर सबै एक ठाउँमा उभिनुपर्ने अपरिहार्यता रहेको उहाँले उल्लेख गर्नुभयो । विकास र जनसरोकारका मुद्दामा सबै एकसाथ अघि बढेमा मात्रै परिणाम आउँछ । “अहिले गुनासो भनेकै सरकारी प्रशासनिक प्रणाली झन्झटिलो छ । यसले गर्दा जनताले धेरै दु:ख पाइरहेका छन् । सहजै हुने सानातिना काममा पनि प्रशासनिक झन्झट खडा गरिन्छ । कर्मचारीतन्त्रमा रहेको पुरातन मानसिकता नफेरेसम्म जनताले छिटोछरितो सेवा प्राप्त गर्ने देखिन्न । पुरानो संरचना र प्रणाली परिवर्तन नभएसम्म हामीले खोजेको परिवर्तन र जनताको चाहना पूरा गर्न सकिँदैन”, सांसद लामा अगाडि भन्नुहुन्छ, “यहाँ सांसद, नेता, मन्त्री प्रधानमन्त्रीले मात्रै चाहेर नहुँदोरहेछ । हामीले एउटा आशयको कुरा पेस गर्छौँ अर्कै भएर आउँछ ।”

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि अहिले चौतर्फी हमला भइरहेको भन्दै नेत्री लामाले प्रणालीको रक्षाका लागि जनता सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले धर्ममाथि राजनीति भइरहेको तथा विदेशीको इसारामा प्रणालीमाथि नै प्रहार भइरहेको दाबी गर्नुभयो ।

“विदेशीको हस्तक्षेपमा नेपालको पवित्र भूमि, पशुपतिनाथ र गौतमबुद्धको भूमिमा अनेक प्रयास भइरहेका छन्, यो कुरा नेपाली जनताले बुझ्नुपर्यो”, सांसद लामाले भन्नुभयो, “अहिलेको व्यवस्थाभन्दा राम्रो व्यवस्था कुनै पनि हुन सक्दैन । व्यक्ति गलत होला तर व्यवस्था गलत छैन र यो लोकतान्त्रिक व्यवस्थामा चुनावबाट व्यक्ति, नेतृत्व फेर्न पाइन्छ जुन यसको सुन्दर पक्ष हो । त्यसैले गणतान्त्रिक शासन व्यवस्थाको रक्षा गरौँ, धर्मनिरपेक्षताको रक्षा गरौँ । यो भनेको हिन्दूलाई दबाएको होइन, नेपालमा रहेका सबै धर्म र जातलाई सम्मान गरौँ भन्ने भावनाअनुरुप मुलुकलाई अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । रासस