• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते

विकास पुगेर पनि गाउँ किन रित्तिदैछ, समस्याको समाधान खोजौ: राष्ट्रपति पौडेल (भिडियोसहित)



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ ।

“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतिकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ”, आफू अध्ययन गरेको सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवका अवसरमा मङगबालर क्याम्पस परिसरमा आयोजित समारोहमा बोल्दै उहाँले भन्नुभयो, “ यतिबेला म यस क्याम्पसको वार्षिकोत्सवमा उभिएर के भन्न चाहन्छु भने शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौ नेपाली युवाहरु ताँती लागेर विदेशीने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ ।”

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरुप निर्धारण हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता हो भन्ने उहाँको भनाइ थियो । “यसका लागि सामूहिक प्रयत्नको जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरुबाट हुन आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले आफू स्वयम्ले अध्ययन गर्ने अवसर पाएको देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा निकै खुशी लागेको बताउनुभयो । “मेरा जीवनको उर्जावान समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा मेरो सहभागिता पनि यस क्याम्पससँग जोडिएको सन्दर्भमा म आज यहाँ उपस्थित भईरहँदा अलिकति भावुक पनि भएको छु । म भित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ”, उहाँले भन्नुभयो ।
सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भईरहेका ती दिनहरूमा पनि सस्तो र सुलभ ढंगले नेपाली जनताका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको यस क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत पनि रहेको उहाँले उल्लेख गर्नुभयो ।

विभिन्न विषयका विज्ञ प्राध्यापकहरूको अथक प्रयास र विद्यार्थीहरूको मेहनतका कारण सरस्वती क्याम्पसले आफूलाई अब्बल सावित गर्ने मौका पाएको उहाँले बताउनुभयो । “यति धेरै शैक्षिक उन्नति र प्रगतिका बावजुद पनि यस क्याम्पसको भौतिक संरचना खासगरी अत्याधुनिक भवनलगायतको अभाव हुनु चिन्ताको विषय हो । म सरकारलाई देशको पुरानो र अग्रणी संस्था सरस्वती क्याम्पसको भौतिक पूर्वाधारलगायतमा विशेष सहयोग गर्न आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

समारोहमा त्यसबेला आफूलाई अध्यापन गराउने गुरु प्राडा शंकरराज पाठकले गर्नुभएको आग्रहप्रति संकेत गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो,“ गुरुको आज्ञा उल्लंघन नगर्नु भन्ने हाम्रो संस्कार हो, शिक्षकको अनुशासनमा बस्नेकै उन्नति हुन्छ, गुरुले मलाई आज्ञा त गर्नुभयो तर उहाँले पढाउनुभएको शिक्षाबाटै आज म जुन पदमा छु, जुन सीमामा छु त्यसलाई पनि उहाँले ख्याल गर्नुनै हुनेछ भन्ने मलाई विश्वास छ ।”