• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित



काठमाडौँ । एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । लुम्बिनीको जितमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे ।

इलामका लागि भने अब्दुलाये बाले एक गोल फर्काए । बुटवलले खेलको ४८ औँ मिनेटमा पहिलो गोल गरी अग्रता लिएको थियो । बुटवलका फरवार्ड जिलेस्पी जङ्ग कार्कीले निकालेको क्रसमा बियोङले गोल गर्दै बुटवललाई पहिलो अग्रता दिलाएको हो ।

त्यस्तै खेलको ७९ औँ मिनेटमा इलामका अब्दुलाये बाले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । उनले अमथ एनडाको पासमा बराबरी गोल फार्काएका हुन् । त्यसपछि खेल सकिन तीन मिनेट बाँकी छँदा बुटवलका कप्तान एरिक विष्टले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यो जितसँगै तीन खेलमा बुटवल लुम्बिनीले ३ अङ्क जोडेको छ । समान तीन खेल नै खेलेको इलामको पनि समान ३ अङ्क नै छ ।