२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाणको विषयलाई लिएर राय बाझियो



file photo
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाणको विषयलाई लिएर न्यायाधीशबीच राय बाझिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा आज उक्त राय बाझिएको हो ।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी रु ३० लाख धरौटीमा छाड्ने राय दिनुभएको छ भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिनुभएको छ ।

आदेशमा भनिएको छ , “प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश, राय मतैक्यता हुन नसकेकाले प्रस्तुत फरक राय सहितको निवेदन बालकृष्ण खाण विपक्षी नेपाल सरकार भएको प्रतिवेदन उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीश समक्ष पेस गर्नु ।” खाणको विवाद अब तेस्रो न्यायाधीशबाट सुनुवाइ हुनेछ ।

त्यस्तै, प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित नौ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो ।

अदालतले पूर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई रु १५ लाख धरौटी थुनामुक्त गर्न आदेश दिएको हो । भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको उल्लेख गर्दै रिजाललाई थुनामा राख्न नपर्ने आदेश गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई रु ३० लाख, हरिभक्त मर्हजन र शरण केशीलाई रु १५र१५ लाख, नरेश केसी र शमशेर मियाँलाई रु १०र१० लाख, आशिष बुढाथोकीलाई रु ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले साधारण तारिखमा टङ्ककुमार गुरुङ, केशव तुलाधार, लक्ष्मी महर्जनलाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतले गत असार १ गते उक्त विवादका १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज उक्त फैसला सुनाएको हो । रासस