एजेन्सी । १० जुलाई २०१९ म्यानचेस्टर, इङ्गल्याण्डको ओल्ड ट्राफोर्ड मैदान । महेन्द्र सिंह धोनी २ इन्चको दुरीमा रनआउट भए । योसँगै भारतको विश्वकप जित्ने आशा पनि समाप्त भयो । विश्वकपको सेमिफाइनल खेलमा भारत न्युजिल्याण्डसँग १८ रनले पराजित भएपछि विश्वकपबाट बाहिरियो ।
सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेपछि यो पाँचौं पटक थियो जब भारतीय टोली आईसीसी प्रतियोगिताको सेमिफाइनल वा फाइनलमा पराजित भएको थियो । त्यसपछि यस्तो तीन पटक भयो । पछिल्लो १० वर्षमा आईसीसीका ९ विभिन्न प्रतियोगितामा ८ पटक भारतीय टोली नकआउट राउण्डमा एक खेल गुमाउँदै बाहिरिएको छ ।
फेरी पनि यस्तै हृदयविदारक प्रतियोगिता भारत सामु छ । यो विश्वकपको सेमिफाइनल पनि हो । भारतले नोभेम्बर १५ मा (बुधबार) मुम्बईमा फेरी त्यही न्युजिल्यान्डको सामना गर्नेछ । भारतीय टोली नकआउट खेलमा फेरी असफल हुने डरको शिकार बन्ने हो कि भन्ने प्रश्न उठिरहेको छ ।
१९७५ देखि १९८३ः भारत सन् १९७५ र १९७९ को विश्वकपमा नकआउटमा पुग्न सकेन । १९८३ मा पहिलो पटक नकआउटमा पुग्यो र भारत च्याम्पियन बन्यो ।
१९८४ देखि २००६ः भारतले ११ आईसीसी प्रतियोगितामा भाग लियो । यीमध्ये ५ वटामा भारत सेमिफाइनल वा फाइनलमा पराजित भयो । वर्षाका कारण एक फाइनल भने पूरा हुन सकेन जसमा भारत संयुक्त विजेता बन्यो । भारत नकआउट राउण्डमा पुग्न नसकेको ५ वटा प्रतियोगिता थिए । सन् १९८३ को विश्वकपदेखि २००७ को एकदिवसीय विश्वकपसम्म भारतले एउटा पनि आईसीसी प्रतियोगिता जित्न सकेको छैन ।
२००७ देखि २०१३ः भारतले २००७ टी-२० विश्व कपदेखि २०१३ च्याम्पियन्स ट्रफी सम्म ७ आईसीसी प्रतियोगितामा भाग लियो । जसमा भारतले ३ नकआउट राउण्डमा पुग्दै तीनवटैमा उपाधि जित्यो ।
२०१४ देखि २०२४ः जारी विश्वकप अघि, भारत ९ मध्ये ८ आईसीसी प्रतियोगिताको नकआउटमा पुग्यो । तर, उसले एउटा पनि उपाधि जित्न सकेको छैन ।